फरेन्सिक जाँचका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको मृतक र आरोपीहरुको स्वाब परीक्षणपछि अनुसन्धान निष्कर्षमा पुग्ने प्रहरीको भनाइ छ ।
What you should know
सुर्खेत — गत फागुन २३ गते मृत्यु भएकी १६ वर्षीया इनिशा विकको अनुसन्धान अझै टुंगिएको छैन । घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित नेपाल प्रहरीको चार टोलीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ । तर फरेन्सिक रिपोर्ट नआउँदा अनुसन्धान नटुंगिएको हो । जसका कारण इनिशाको शव १६ दिनदेखि कर्णाली प्रदेश अस्पतालमै छ ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिशा गत फागुन २३ गते वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । प्रहरी र स्थानीयले उद्धार गरी प्रदेश अस्पताल ल्याए पनि उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए । उषा बालवाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान विषय पढ्दै आएकी उनी त्यस दिन ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किएकी थिइन् ।
घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालयले चार नाबालकलाई पक्राउ गरेको छ । उनीहरुमध्ये ३ जना उषा बालवाटिका माध्यमिक विद्यालयमै अध्ययनरत हुन् ।
घटनाको पर्सिपल्ट मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा किटानी जाहेरी दिएका थिए । प्रहरीले विभिन्न कोणबाट उनीहरुको बयान लिने काम भइरहेको जनाएको छ । ‘मृतक र आरोपीहरुको भेजाइनल स्वाब र मुखतिरको स्वाब फरेन्सिक जाँचका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ, मेसिनमा केमिकलसहित केही दिन राखेर स्वाबको परीक्षण गर्नुपर्ने हुन्छ,’ कार्यालयका डीएसपी मोहनजंग बुढथापाले भने, ‘अब १/२ दिनभित्रै त्यो रिपोर्ट आएपछि अनुसन्धान निष्कर्षमा पुग्छ ।’
मृतकका बाबु इन्द्रबहादुर विकले घटनालाई विभिन्न तरिकाले तोडमोड गर्न खोजिएको र अनुसन्धानमा ढिलाइ भइरहेको आरोप लगाए । ‘सामूहिक रुपमा बलात्कारपछि हत्या भएको छ, घटनामा संलग्नमाथि कडा कारबाहीको ग्यारेन्टी नहुँदासम्म हामी शव बुझ्दैनौं,’ उनले भने, ‘मेरो छोरीको हत्या योजनाबद्ध रूपमा भएको छ, हामीलाई न्याय चाहियो ।’
पोस्टमार्टम रिपोर्टअनुसार इनिशाको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्तश्राव भई भएको पुष्टि भएको छ । भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले बलपूर्वक यौनसम्पर्क हुँदा यौनांगको बाहिरी र भित्री भाग च्यातिएको पाइएको बताए । फरेन्सिक रिपोर्ट आएपछि पोस्टमार्टम रिपोर्ट र आरोपीहरुको बयानलाई तुलना गरेर घटनाको निष्कर्षमा पुगिने डीएसपी बुढथापाले बताए । उनका अनुसार पोलिग्राफ गर्ने प्रहरी टोलीले पनि घटनाको अनुसन्धान गरिरहेको छ । पोलिग्राफीले मानिसले झुटो बोलेको पत्ता लगाउने काम गर्छ ।
घटनास्थलबाट पक्राउ परेका १६ वर्षीय किशोरले प्रहरीलाई बयान दिँदै सल्लाह गरेरै आफूहरुबीच यौनसम्पर्क भएको र त्यसक्रममा अत्यधिक रक्तश्राव भएपछि अरु तीन साथीलाई सहयोगका लागि बोलाएको बताएका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले मृतक इनिशा र आरोपित बालकहरुको मोबाइललगायत विद्युतीय सामग्री र घटनास्थलमा भेटिएका अन्य प्रमाण पनि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएकाले त्यो रिपोर्ट आएपछि अनुसन्धान टुंगोमा पुग्ने जानकारी दिए ।
