दुई साताअघि बेपत्ता भएकी किशोरीको शव सानीभेरी नदीमा भेटियो

गत फागुन २५ गते घरबाट सानीभेरी नदीपारि छिमेकमा साथीको बिहेमा सहभागी हनु गएकी १३ वर्षीया सपना ओली सोही रातिदेखि बेपत्ता भएकी थिइन्

चैत्र ८, २०८२

महेश केसी

Body of teenager who went missing two weeks ago found in Sani Bheri River

रुकुम पश्चिम — १४ दिनअघि बेपत्ता भएकी रुकुम पश्चिमकी एक किशोरीको शव आज सानीभेरी नदीमा भेटिएको छ । मुसिकोट नगरपालिका-१३ छिबाङ नजिकै भेटिएको उक्त शव बाँफिकोट गाउँपालिका-३ गरालाबोटकी १३ वर्षीया सपना ओलीको भएको प्रहरीले बताएको छ । 

गत फागुन २५ गते घरबाट सानीभेरी नदीपारि छिमेकमा साथीको बिहेमा सहभागी हनु गएकी ओली सोही रातिदेखि बेपत्ता भएकी थिइन् । उनीसँगै गएका उनका सहोदर काकाका दुई छोरीहरू १२ वर्षीया उर्मिला र १४ वर्षीया कल्पनाको भने भोलिपल्ट बिहान गाउँनजिकै नदी किनारमा शव भेटिएको थियो ।

सपना बेपत्ता भएपछि उनको घरपरिवार र प्रहरीले खोजीकार्य जारी राखेको थियो । आज दिउँसो छिबाङका स्थानीयले नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेको र सपनाका आफन्तलाई बोलाएर पहिचान गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए । 

‘यो घटनाको कारणबारे धेरै एंगलबाट हामीले अनुसन्धान गरिरहेका छौं । र पोस्टमार्टम रिपोर्टसमेत हेर्दा अहिलेसम्म उनीहरू नदी तर्न खोज्दा बगेरै ज्यान गएको पाइएको छ । यसमा थप केही भएमा त्यसको पनि अनुसन्धान गरिने नै छ,’ उनले भने । 

नदी किनारमा भेटिएको शव आजै पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने पनि प्रहरीले जानकारी दिएको छ ।   

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully