घर बनाउन आवश्यक काठ बोक्नेदेखि सदरमुकाम दुनैबाट खाद्यान्न, लत्ताकपडालगायतका सामग्री ढुवानीमा समेत चौंरी र घोडा–खच्चडकै प्रयोग हुँदै आएको छ।
What you should know
डोल्पा — चीनसँग सिमाना जोडिएको उपल्लो डोल्पामा अझै सडक नपुग्दा सामान्य घर निर्माणसमेत चुनौतीपूर्ण बनेको छ।
घर बनाउन आवश्यक काठ ढुवानी गर्न यहाँका बासिन्दा अझै पनि चौंरी (याक) कै भर पर्न बाध्य छन्। त्यति मात्र नभई जिल्ला सदरमुकाम दुनैबाट खाद्यान्न, लत्ताकपडालगायतका सामग्री ढुवानीमा समेत चौंरी, घोडा–खच्चड प्रयोग हुँदै आएको छ।
जुम्लाको चोत्र गाउँबाट प्रति चौँरी एक लाख रुपैयाँका दरले खरिद गरिएका चौंरी उपल्लो डोल्पा पुर्याइँदै छन्। काइके गाउँपालिका–६ बन्टाडाका युवा रमेश रोकायका अनुसार करिब एक महिनाको मिहनेतपछि ३५ वटा चौंरी ३५ लाख रुपैयाँमा खरिद गरी ल्याइएको हो । 'अब यी चौंरीहरू त्रिपुरासुन्दरी नगरपालिका हुँदै उपल्लो डोल्पा पुर्याइनेछन्,' उनले भने ।
साँघुरो बाटोमा पनि एकदमै सजग भएर हिँड्ने र बलिया पनि हुने भएकाले परापूर्वकालदेखि नै उपल्लो डोल्पामा घर बनाउने काठ ढुवानी गर्न चौंरीको प्रयोग गरिने रोकायले बताए। मानिसहरू सहर बजारमा रमाउन थालेपछि अहिले चौंरी पाल्ने कृषक पनि घट्न थालेको उनले बताए।
उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिका, छार्काताङ्सोङ गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिका उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसोका कारण काठ पाइँदैन। स-साना झाडीबाहेक ठूला रूखबिरुवा नहुने भएकाले घर तथा सार्वजनिक संरचना निर्माणका लागि झ्याल–ढोका र फर्निचरका लागि आवश्यक पर्ने काठ तल्लो डोल्पाबाटै चौंरीलाई बोकाएर ढुवानी गर्नुपर्छ।
उपल्लो डोल्पा राष्ट्रिय सडक सञ्जालमा नजोडिँदा यहाँ निर्माण सामग्री ढुवानी अत्यन्तै महँगो र खर्चिलो बनेको छ। चौंरीमार्फत काठ ओसार्नु नै अहिलेको मुख्य विकल्प बनेको छ।
डोल्पोबुद्ध गाउँपालिका स्थित ताक्सीका स्थानीय युवा पेमा छेवाङ गुरुङ भन्छन्, 'सडक नहुँदा एउटा घर बनाउन वर्षौं लाग्छ। सामान ढुवानीकै खर्च अत्यधिक हुन्छ, जसले सामान्य नागरिकलाई घर बनाउनै मुस्किल बनाएको छ।'
उनका अनुसार सडक अभावले स्वास्थ्य, शिक्षा र व्यापार–व्यवसायमा समेत गम्भीर असर पारेको छ। 'बिरामी पर्दा समयमै उपचार पाउन सकिँदैन, पढाइका लागि विद्यार्थीलाई पनि समस्या हुन्छ,' उनले भने। स्थानीयका अनुसार सडक नपुगेसम्म उपल्लो डोल्पामा घर बनाउने काठदेखि दैनिक उपभोग्य सामग्रीसम्म ढुवानीका लागि चौंरी, घोडा–खच्चडकै भर पर्नु परिरहेको छ ।
उपल्लो डोल्पाकै सीमावर्ती बस्तीबाट सदरमुकाम पुग्न ४/५ दिन पैदल हिँड्नुपर्ने उपल्लो डोल्पालीको गुनासो छ। उपल्लो डोल्पासम्म सडक सञ्जाल छिटो जोडिएको भए विकास निर्माणले पनि गति लिनुका साथै जनजीवन पनि निकै सहज हुने उनीहरूको भनाइ छ।
उपल्लो डोल्पालाई सडक सञ्जालमा जोड्ने भेरी करिडोरअन्तर्गत दुनैदेखि लासिक्यापसम्मको २५ किलोमिटर सडक निर्माणका लागि तीन वर्षअघि नै ठेक्का लागे पनि काम सम्पन्न हुन सकेको छैन। लासिक्याप–सिसौल सडकखण्डको करिब ३५ किलोमिटर ट्रयाक खोल्नै बाँकी छ। यी दुई सडकखण्डको काम पूरा भएमा उपल्लो डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ। नेपाल र चीनको सीमावर्ती नाका मोरिम्लादेखि सिसौलसम्मको ४० किलोमिटर सडकको ट्रयाक यसअघि नै खुलिसकेको छ।
