असिनापानीले गहुँ, जौ र तरकारीका बेर्नामा क्षति 

असिनाले किसानको पाखो बारीमा लगाएको गहुँ तथा जौमा लागेको बाला भाँचेर सखाप पारेको छ भने तरकारीका बेर्नाहरू समेत नष्ट भएका छन् ।

चैत्र ६, २०८२

विप्लव महर्जन

Hail damage to wheat, barley, and vegetable crops

सल्यान — शुक्रबार दिउँसो परेको असिनापानीले सल्यानको कपुरकोट गाउँपालिका–५ को सल्लाम, दयाकोट, सिन्धुरीलगायत स्थानका किसानले लगाएको हिउँदेबाली गहुँ, जौ र तरकारीका बेर्नामा क्षति पुर्‍याएको छ ।

असिनाले किसानको पाखो बारीमा लगाएको गहुँ तथा जौमा लागेको बाला भाँचेर सखाप पारेको छ भने तरकारीका बेर्नाहरू समेत नष्ट भएका छन् । पाक्ने बेला भएको गहुँ, जौ असिनाले स्वाहा बनाएपछि किसान चिन्तित भएका छन् । 

खालीका किसान तथा पूर्व वडाअध्यक्ष यमकुमार बस्नेतले पाँच रोपनीमा लगाएको गहुँ तथा जौ बाली नष्ट भएको बताए । ‘चैत अन्तिमसम्ममा बाली भित्र्याउन मिल्थ्यो । पाक्न नपाउँदै असिनाले सखाप पार्‍यो,’ उनले भने ।

खालीकै अर्का किसान भिष्म बुढाले सार्न ठिक्क पारेको गोलभेँडाको बेर्ना र करेसाबारीमा लगाएको तरकारीमा क्षति पुर्‍याएको बताए । सुन्तला, कागतीका फुल समेत सबै झरेको उनको भनाइ छ । 

असिनाले पाखोबारीमा लगाएको गहुँ र जौ बाली ५० प्रतिशतभन्दा बढी क्षति पुगेको उनले जानकारी दिए । उनले भने ‘गोलभेँडाको बेर्ना तीन/चार रोपनी जग्गामा लगाउन पुग्थ्यो । २/३ लाख जति कमाई हुन्थ्यो । सबै सकियो ।’ 

कपुरकोट गाउँपालिका–५ का वडाअध्यक्ष होमराज खड्काले दिउँसो परेको असिनाले वडाभित्रका धेरै किसानको हिउँदेबालीमा क्षति पुर्‍याएको बताए । क्षति कति भयो भन्ने तथ्यांक नआएको उनको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully