प्रधानमन्त्रीको पूजाको लागि मन्दिर आसपासको क्षेत्रमा सशस्त्र प्रहरी,नेपाल प्रहरी र नेपाली सेनाको कडा सुरक्षा व्यवस्था गरिएको थियो ।
जुम्ला — प्रधानमन्त्री सुशीला कार्कीले कर्णालीको प्रशिद्ध चन्दननाथ मन्दिरमा पूजा गरेकी छिन । उनले मन्दिरमा १५ मिनेट पूजा गरेकी हुन् । प्रधानमन्त्रीको पूजाको लागि मन्दिर आसपासको क्षेत्रमा सशस्त्र प्रहरी,नेपाल प्रहरी र नेपाली सेनाको कडा सुरक्षा व्यवस्था गरिएको थियो ।
कर्णालीको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित चन्दननाथ मन्दिरमा प्रधानमन्त्री कार्कीले पूजाआजा गर्नु पर्यटन प्रवर्द्धनका सकारात्मक सन्देश जाने गुठी समितिले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडलले चन्दननाथ मन्दिरमा १५ मिनेट पूजा गरेर प्रधानमन्त्री कार्कीको जुम्लाको कार्यतालिका सकिएको बताए । उनले भने, ‘प्रधानमन्त्री ज्यूले मन्दिरमा राष्ट्र कल्याण र नेपाली जनताको शान्तिको कामना गर्दै पूजाआजा गर्नु भएको छ । यो समग्र जुम्लीबासीको लागि सकरात्मक विषय हो । ’
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण रुपमा निर्वाचन गर्न साथ दिएको भन्दै सुरक्षा निकाय, कर्मचारी र मतदातालाई धन्यवाद दिन कर्णाली भ्रमणमा निस्केकी थिइन् । उनले रारातालको अवलोकन गर्नुका साथै जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको समेत अवलोकन गरिन् ।
मुगु र जुम्लाका सुरक्षा प्रमुखहरुसँग समेत छलफल गरिन् । निर्वाचनमा देखिएको सक्रियताको उच्च प्रसंसा गर्दै सुरक्षा निकाय, कर्मचारीहरु र मतदाताहरु प्रति धन्यवाद ज्ञापन गरिन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् जुम्ला पुगेकी प्रधानमन्त्री कार्की नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डामा बसेकी थिइन् ।
