पीडित बालिका सुरक्षित आवासमा, कडा कारबाही गर्न माग

प्रहरी हिरासतमा रहेका पीडक पुरुषको अनुसन्धान सकिए पनि जिल्लामा सरकारी वकिल र न्यायाधीश नभएकाले हिरासतमै रहेको अनुसन्धान अधिकृत गणेश ज्ञवालीले बताए ।

चैत्र ५, २०८२

तुलाराम पाण्डे

Victim girl in safe house, demand for strict action

कालिकोट — साथीको बुवाबाट बलात्कारमा परेकी १३ वर्षीया बालिका जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रबाट मान्म बजारस्थित सुरक्षित आवासमा ल्याइएको छ ।

अस्पतालमा आवश्यक सेवा दिएपछि उनलाई सोसेक नेपालले सञ्चालन गरेको सुरक्षित आवासमा पठाइएको अस्पताल प्रमुख डा. रत्नवीर सुनारले बताए । अस्पतालले दिने आवश्यक सेवा दिएर सुरक्षित आवासमा गइसकिन् । उनले भने, ‘ओसिएमसीको रेखदेखमा आवश्यक परामर्श गर्ने गरी पठाइएको हो ।’

प्रहरी हिरासतमा रहेका पीडक पुरुषको अनुसन्धान सकिए पनि जिल्लामा सरकारी वकिल र न्यायाधीश नभएकाले हिरासतमै रहेको अनुसन्धान अधिकृत गणेश ज्ञवालीले बताए ।

‘पीडकलाई पक्राउ गरेपछि सरकारी वकिलमार्फत जिल्ला न्यायधीशले १२ दिनको म्याद दिएका थिए । १२ दिन त पुगेको छैन । उनले भने सरकारी वकिल र श्रीमान (जिल्ला न्यायधीश) आएपछि अदालतमा पेश गरेर कारागार चलान हुन्छ,’ उनले भने । पीडकले जबरजस्ती करणी गरेको स्वीकार गरिसकेकोले आवश्यक प्रक्रिया पूरा गरेर अदालत पेश गरिने जानकारी दिए । 

पत्नीलाई छोराछोरी पढाउन काठमाडौं पठाएका ती पुरुषले ललाई फकाई माघ १३ गते राति बालिकालाई बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । 

बलात्कारजस्तो जघन्य अपराधमा संलग्न भएका नेकपा माओवादीका रास्कोट नगर कमिटी सदस्यसमेत रहेका ती पुरुषलाई कडा कारवाही हुनुपर्ने महिला अधिकारकर्मी पद्मा तिरुवाले बताइन् । यसैबीच, नेपाली कम्युनिष्ट पार्टी निकट कर्णाली प्रदेश जेन–जी रेड फोर्सको तर्फबाट सीमा शाही नेतृत्वको टोलीले नेकपा माओवादीका नेता रहेका आरोपीले बालिकालाई पैसा दिएर बलात्कार गरी गर्भवती बनाएको भन्दै कानुनी कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयललाई ज्ञापन पत्र बुझाएका छन् ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully