श्रीमान्को चरम यातनापछि भेरी नदीमा छोराछोरीसहित मायाले हामफालेर आत्महत्या गरेको जाहेरीमा उल्लेख छ ।
सुर्खेत — भेरी नदीमा मृत भेटिएकी माया कठायतका श्रीमान भूपेन्द्र कठायतविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको छ ।
छोराछोरीसहित गएको आइतबार भेरीमा हेलिएकी मायाका बुवा र दाजुले उनका श्रीमान्विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गराएका छन् । इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रकार केसीका अनुसार जाहेरी परेलगत्तै भूपेन्द्रलाई पक्राउ गरेर अनुसन्धान गर्ने बताए ।
श्रीमान्को चरम यातनापछि भेरी नदीमा छोराछोरीसहित मायाले हामफालेर आत्महत्या गरेको जाहेरीमा उल्लेख छ ।
गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया मायाले आइतबार बेलुकी साढे चार बजेतिर ११ वर्षीया छोरी आशा र पाँच वर्षका छोरा दीपकसहित भेरी नदीमा हामफालेको शंका गरिएको छ । सोमबार माया र मंगलबार छोरी आशाको शव फेला परेको थियो । पाँच वर्षका छोरा दिपकको शव अझै फेला परेको छैन ।
मायाका बुवा बालुदेव गिरीले दैनिक मदिरा सेवन गरेर छोरी र नातिनातिनालाई यातना दिने गरेका कारण बाध्य भएर भेरी नदीमा हाल फालेर आत्महत्या गरेको जाहेरीमा उल्लेख गरेका छन् ।
