महिला तथा किशोरीलाई लक्षित गरी यौन तथा प्रजनन स्वास्थ्य शिविर संचालन गरिएको हो ।
कालिकोट — यहाँको सान्नीत्रिवेणीस्थित आधारभूत अस्पताल मेहेलमुडीमा दुईदिने स्वास्थ्य शिविर सुरु भएको छ । महिला तथा किशोरीलाई लक्षित गरी यौन तथा प्रजनन स्वास्थ्य शिविर बुधबारबाट सुरु भएको हो ।
अस्पताल भए पनि डाक्टर नभएको सान्नीत्रिवेणीमा कालिकोट जिल्ला अस्पतालबाट डा. प्रकाश पौडेल, ओसीएसीका दुर्गा शाही र रास्कोट नगर अस्पतालका डा . काेमलप्रसाद बरालसहितको चिकित्सकको टोलीले बिरामीको चेकजाँच सुरु गरेको स्वास्थ्य शाखाकी बबिता शाहीले जानकारी दिइन् ।
गाउँपालिकाकाे समन्वयमा प्लान इन्टरनेसनल र कृडाक नेपालको सहकार्यमा संचालित सशक्त बालिका परियोजनाले नि:शुल्क औषधिसहित परामर्श सेवा दिएको छ । टाढाका अस्पताल पुग्न नसक्ने बिरामीलाई यस शिविरले सहज भएको पालिका उपाध्यक्ष पार्वती सिंह सन्ज्यालले बताइन् ।
'राेग पालेर गाउँमै बस्न बाध्य दिदीबहिनीलाई शिविरले राहत पुग्नेछ,' उनले भनिन्, 'जटिल समस्या भएकालाई सुविधासम्पन्न अस्पतालमा रेफर गरिनेछ ।'
दुर्गमको अस्पतालमा संचालन भएको शिविरबाट आर्थिक अभावले उपचार गर्न जान नसक्नेलाई राहत हुने पालिका अध्यक्ष मोहनबहादुर केसीले बताए ।
