राउटे समुदायमा एकल महिलाको संख्या बढ्यो

मदिरा र परम्पराको मारले राउटे महिला कम उमेरमै एकल हुन बाध्य । समुदायमा अत्यधिक मदिरा प्रयोगका कारण अधिकांश महिला बच्चा नजन्माएर एकल हुँदा जनसंख्या घटिरहेको छ ।

चैत्र ४, २०८२

ज्योति कटुवाल

Number of single women increases in Raute community

What you should know

सुर्खेत — पछिल्लो समय राउटे समुदायमा एकल महिलाको संख्या बढिरहेको पाइएको छ । २०७५ सालयताको तथ्यांक हेर्ने हो भने राउटे समुदायमा १७ जना महिला एकल बनेका छन् । खास गरी सानो उमेरमै उनीहरू एकल बनेको देखिन्छन् । 

राउटे बस्तीमा एकपटक विवाह भएपछि अर्कोपटक विवाह गर्ने चलन छैन । त्यसैले कम उमेरमा एकल बनेका राउटे महिला एकल नै रहेका छन् । राउटेको संस्कारअनुसार कम उमेरमा विवाह गर्ने र विवाह भएपछि महिलाले अर्को बिहे गर्नु हुन्न भन्ने चलन कायमै छ । समुदायका अधिकांश महिलाले कम उमेरमा बिहे गर्छन् । श्रीमान‍्ले अत्यधिक मदिरा सेवन गरेपछि  मृत्यु भएर उनीहरू सानो उमेरमै एकल बनेका हुन् ।

राउटे समुदायमा काम गर्दै आएकी सामाजिक सेवा केन्द्र सोसेककी दुर्गा खत्रीले एकल महिला बढ्दा राउटे समुदाय खुम्चिँदै गएको बताइन् ।‘कम उमेरमै श्रीमान् गुमाउँदा पनि महिलाले दोस्रो विवाह गर्न नपाउने चलनले समस्य झन् जटिल बनेको छ,’ उनले भनिन्, ‘राउटे समुदायको प्रचलनअनुसार एकपटक विवाह भएपछि अर्कोपटक विवाह गर्ने चलन छैन, महिनावारी नहुँदै विवाह गर्ने चलन छ तर श्रीमान् गुमाएका महिला जीवनभर एक्लै बस्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार बस्तीमा १५ देखि ५१ वर्ष उमेर समूहका १७ जना एकल महिला बस्दै आएका छन् । १२ र १३ वर्षको उमेरमा बिहे गर्ने १३ जना र १४ र १५ वर्षमा बिहे गर्ने ४ जना रहेका छन् । त्यसमध्ये १५ देखि ३५ वर्षमा एकल हुने ९ जना र ३६ देखि ५१ वर्षमा एकल हुने ८ जना रहेका छन् ।

समुदायमा केही वर्षअघि १५ वर्षकी सुरमान शाही र १२ वर्षीया मयो शाहीको एकै दिन बिहे भयो । सुरमानको ३४ वर्षीय शिवराज र मयोको ३२ वर्षीय दलबहादुरसँग बिहे भयो तर अत्यधिक मदिरा सेवनका कारण ६ महिनामै शिवराज र दलबहादुरको मृत्यु भयो । समुदायमा अत्यधिक मदिरा प्रयोगका कारण अधिकांश महिला बच्चा नजन्माएर एकल हुँदा जनसंख्या घटिरहेको छ । अभिभावकको मदिरा प्रयोगले बालमृत्यु दर भने बढेको छ ।

सोसेक नेपालको तथ्यांक अनुसार तीन वर्षयता १० बालबालिका र शिशुको मृत्यु भइसकेको छ । उनीहरूको कडाखालको कुपोषण र निमोनियाका कारण मृत्यु भएको बस्तीमै काम गर्दै आएका स्वास्थ्यकर्मीहरू बताउँछन् । शिशु पेटमा भएदेखि आमाबुवाले अत्यधिक मदिरा सेवन गर्ने र जन्मदा पनि राम्रो हेरचार नभएका कारण शिशु मृत्युदर बढेको हो । २०७५ असारयता राउटे समुदायका ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ दिनदेखि ३ वर्षमा २५ जनाको मृत्यु भएको छ भने अन्य २७ जनाको मृत्यु भएको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully