जुम्लाका एक हजारभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप 

विद्यालयमा आधारित खोप कार्यक्रमअनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन लागिएको जनस्वास्थ्य प्रमुख किरण शर्माले जानकारी दिए ।

चैत्र ४, २०८२

डीबी बुढा

More than 1,000 teenage girls in Jumla vaccinated against cancer

जुम्ला — जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जुम्लाका १ हजार २ सय ७७ जना किशोरीलाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने भएको छ । 

यही चैत ९ देखि सुरु हुने अभियानमा जिल्लाका ८ स्थानीय तहका ८४ वटा विद्यालयलाई खोप केन्द्रका रुपमा तोकिएको छ । विद्यालयमा आधारित खोप कार्यक्रमअनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन लागिएको जनस्वास्थ्य प्रमुख किरण शर्माले जानकारी दिए । जिल्लाका किशोरीको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राखेर पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने उनको भनाइ छ । 

'विद्यालयमै पुगेर खोप लगाइने छ,' प्रमुख शर्माले भने, ‘लक्षित उमेर समूहका कुनै पनि किशोरीहरु खोप लगाउनबाट बञ्चित हुने छैनन् ।’

जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले खोप अभियान प्रभावकारी बनाउन सूक्ष्म योजना निर्माण गरी कार्यान्वयन रणनीतिबारे छलफल समेत भएको बताए । जसका लागि स्थानीय तह, विद्यालय र स्वास्थ्यकर्मीबीचको सम्बन्ध सुमधुर बनाइएको उनको भनाइ छ । 

चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी २७७ किशोरी छन् । पातारासी र हिमा गाउँपालिकामा समान २२१ जना रहेका छन् । तिला गाउँपालिकामा १८५, तातोपानीमा १६४, कनकासुन्दरीमा १७७, सिजामा १३५ र गुठिचौरमा ७७ किशोरी खोप लगाउन योग्य छन् । 

गतवर्ष कक्षा ७ देखि १० सम्मका किशोरीलाई समेटिएको थियो । तर यो पटक कक्षा ६ देखि केन्द्रित गरिएको छ । यसले दीर्घकालीन रूपमा पाठेघरको मुखमा हुने क्यान्सर न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने जनस्वास्थ्य प्रमुख शर्माको विश्वास छ । ‘कुनै पनि किशोरी छुट्न नदिने र दोहोरिने अवस्था आउन नदिने गरी सूक्ष्म योजना बनाइएको छ,’ उनले भने । यो अभियान खोप वितरणमा मात्र केन्द्रित छैन । किशोरीको स्वास्थ्यप्रति बढ्दो सचेतना र स्थानीय तहको जिम्मेवारीबोधको उदारहणसमेत बनेको छ ।

जिल्लामा जनस्वास्थ्य सेवा कार्यालयले चालु आर्थिक वर्षमा चल्ने एचपीभी खोप सेवाका लागि पूर्व तयारी सञ्चालन अभिलेख तथा प्रतिवेदन कार्यक्रम गरेको छ । जसमा स्वास्थ्यकर्मीहरु, जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीहरु समेत सहभागी थिए । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully