पहिले लागूऔषधको कुलतमा फसेका सुवास अहिले युवाहरू सुधार्ने अभियानमा

कर्णाली मावि अनामनगरमा कक्षा ८ मा पढ्दै कुलतमा फसेका सुवास अहिले आफू सुधारिएर अन्य युवालाई पनि सुधार गर्ने अभियानमा सरिक भएको बताउँछन् ।

चैत्र ३, २०८२

डीबी बुढा

Subash, who was previously addicted to drugs, is now on a campaign to reform youth.

What you should know

जुम्ला — पातारासी–७ पटमारागाउँका सुवास बुढा जुम्ला सदरमुकाम खलंगामा सुधार केन्द्र खोलेर कुलतमा फसेका युवाहरू सुधारिरहेका छन् । सात वर्ष पहिले उनी कर्णाली टिन च्यालेन्ज ड्रग रिह्याविलिटेसन सेन्टर नामक संस्था खोलेर कुलतमा फसेका युवाहरूको उद्धारमा जुटेका हुन् । 

लागूऔषध, मादक पदार्थ सेवनका कारण मानसिक समस्या भोगिरहेकालाई सुधार्ने उनको लक्ष्य छ । उनले भने, ‘अहिले युवाहरू कुलतमा फसेका छन् । कैयन् मानिस मानिसक समस्याले ग्रस्त छन् । उनीहरूको सुधारमा केही भए पनि इँटा थप्ने प्रयास भइरहेको छ ।’ पहिले कुलतमा फसेको भन्दै सुवासलाई सबैले हेपिरहेका थिए । 

३२ वर्षका सुवास ११ वर्षको उमेरमै कुलतमा फसे । उनले २२ वर्षको उमेरसम्म लागूऔषधको सेवन गरिरहे । उनी मानसिक रूपमा अस्वस्थ भए । परिवार चिन्तित बने । उनी बिग्रेको परिवारलाई थाहा थिएन । जब उनी मानसिक रोगी बने, बल्ल परिवारले जानकारी पाए । उनलाई भारतको लखनउस्थित टिन च्यालेन्जमा लगियो । दुई वर्ष सुधार केन्द्रभित्र बसेका उनी एक वर्ष बाहिरै बसेर बिताए । उनको मानसिक अवस्था सुध्रिँदै गयो । 

कर्णाली मावि अनामनगरमा कक्षा ८ मा पढ्दै कुलतमा फसेका सुवास अहिले आफू सुधारिएर अन्य युवालाई सुधार गर्ने अभियानमा सरिक भएको बताउँछन् । उनले भने, ‘कहिले गाडी सिक्ने त कहिले गीत रेकर्ड गर्ने भन्दै परिवारसँग रुपैयाँ मागिरहेँ । साथीहरूको लहलहैमा काठमाडौंसम्म पुगेँ । परिवारले पैसा दिइरहे । त्यो पैसा पढ्ने भन्दा पनि कुलतमा लगानी भयो ।’ 

तर अहिले सुवास सुधार केन्द्र खोलेर कुलतमा फसेका युवाहरूको उद्धार गरिरहेका छन् । सानो छँदा कुलतमा फसेकाले केही पनि थाहा पाएनन् । पढाइ छाडेर चरेस र रक्सीको नसामा लठ्ठिए । ‘२०७० सालतिर त कामै नलाग्ने गरेर बिग्रेँ,’ उनले भने, ‘पढाउने भनेर बुवाआमाले जमिनसमेत बेच्नु भो ।’ त्यतिबेला बुवा हुलाकमा जागिरे र आमा होटल खोलेर बसेको उनले सुनाए । उनी काठमाडौंदेखि जुम्ला जिल्ला प्रहरी कार्यालयमा समेत बसे । परिवारले सुधार्नकै लागि हिरासतमा पठाउने गरेको अनुभव उनको छ । 

२०७५ पुस २१ गते वैवाहिक बन्धनमा बाँधिए । हुम्ला सिमीकोट गाउँपालिका स्याडाकी कल्पना बुढाले उनीसँग विवाह गरिन् । अहिले सुवास दम्पती सुधार केन्द्र चलाएका बसेका छन् । उनीहरूका एक छोरा र एक छोरी छन । उनले भने, ‘म आफैं कुलतमा लागेर बिग्रेर सुधारिएकाले सबैलाई आफ्ना अनुभव सुनाएर चित्त बुझाइरहेको छु ।’

अहिलेसम्म ४ जना महिला र ३० जना पुरुषले सुधार केन्द्रबाट सेवा लिइसकेको उनले बताए । १० जनासम्म एकैचरणमा अटाउन सक्ने सुधार केन्द्रको भवन छ । चन्दननाथ नगरपालिकाले घेराबार बनाइदिएको छ । सिरक–डस्ना र बेडहरू सहयोग गरेको छ । २ सय ५० वर्गमिटर जमिनमा सुधार केन्द्रको भवन बनेको छ । आर्थिक अभावले अहिले कर्मचारी राख्न नसकेको कल्पनाले सुनाइन् । ‘कर्मचारी राखौं भने तलब दिने पैसा छैन,’ उनले भने, ‘त्यसैले हामी आफैं खटिन्छौं ।’

अहिले बिरामीहरूका लागि फोनहरू आइरहन्छन् । सुधार केन्द्रमा टीभी, कम्प्युटर र राम्रो खानपान दिन सकिरहेको अवस्था छैन । महिनाको एक बिरामीको १० हजार रुपैयाँ लिने गर्छन् । औषधि, पानी, बिजुली र काउन्सिलरको व्यवस्थापन त्यही रकमबाट जुटाइरहेको उनीहरूले सुनाए । 

चन्दननाथ नगरपालिकाबाट अहिलेसम्म ३ लाख ५० हजार र गुठिचौरबाट १ लाख रुपैयाँ सहयोग मिलेको छ । अहिलेसम्म एक महिनादेखि २२ महिनासम्म बिरामीहरू राख्नु परेको उनीहरूको भनाइ छ । पटक–पटक अस्पतालमा चेकजाँच गर्नेदेखि विदेशीहरू समेत काउन्सिलिङ गर्न आउने गरेका छन् । 

न्यूनतम १२ वर्षदेखि ६४ वर्षसम्मका बिरामी सुधार केन्द्रमा राख्ने गरेको सुवासको भनाइ छ । यहाँ पोखरा, काठमाडौंदेखि पनि कुलतमा फसेकाहरू आश्रयका लागि आइरहन्छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully