सम्भावित क्षेत्रमा ड्रोन क्यामराको सहायताले खोजी कार्य अगाडि बढाइएको निकुञ्ज कार्यालयले जनाएको छ ।
सुर्खेत — सिकार खेल्न जाँदा सम्पर्कविहीन भएकाहरुको खोजीका लागि बर्दिया राष्ट्रिय निकुञ्जको टोली खटिएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र प्रवेश गरेका सुर्खेतका उनीहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको संयुक्त टोली मंगलबार बिहानदेखि घटनास्थलतर्फ परिचालन गरिएको हो।
निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार सम्भावित क्षेत्रमा ड्रोन क्यामराको सहायताले खोजी कार्य अगाडि बढाइनेछ। घटनास्थल निकुञ्ज कार्यालयबाट करिब १७ कोष उत्तरतर्फ पर्छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार फागुन २३ गते सुर्खेतको बराहताल गाउँपालिका–१ का पाँच जना र लेकबेँसी नगरपालिका–८ का एक जना गरी ६ जना भरुवा बन्दुकसहित सिकार खेल्न निकुञ्जको कोर एरियामा प्रवेश गरेका थिए।
उनीहरूमा २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री र ४५ वर्षीय दुर्गाबहादुर सिजाली छन् ।
घटनापछि पाँच जना घर फर्किए पनि त्यसपछि फरार छन् । टोपबहादुर फर्किएका छैनन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले बताए । टोपबहादुर घर नफर्किएको र उनको अवस्था पत्ता लागेपछि मात्रै घटनाको वास्तविक विवरण खुल्ने प्रहरीको भनाइ छ ।
