सन्तानसहित बेपत्ता मायाकी छोरीको पनि शव भेटियो, छोराको अवस्था अझै अज्ञात

आइतबारदेखि सम्पर्कविहीन मायाको शव सोमबार बेलुका भेरी नदीमा फेला परेको थियो । ११ वर्षीया छोरी आशाको शव पनि मंगलबार बिहान भेटिएको छ ।

चैत्र ३, २०८२

ज्योति कटुवाल, तृप्ति शाही

Maya's daughter's body found, son's condition still unknown

सुर्खेत — दुई जना छोराछोरीसहित सम्पर्कविहीन भएकी सुर्खेतकी माया कठायतकी छोरीको पनि शव भेटिएको छ।

आइतबारदेखि सन्तानसहित सम्पर्कविहीन भएकी मायाको शव सोमबार बेलुका भेरी नदीमा फेला परेको थियो। उनकी ११ वर्षीया छोरी आशाको शव भने मंगलबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार सोमबार बेलुका सुर्खेतको लेकबेँसी नगरपालिका–३ को पटारे भन्ने ठाउँमा भेरी नदीमा मायाको शव फेला परेको थियो । छोरी आशाको शव भने मंगलबार बिहान गुर्भाकोट नगरपालिका–१२ स्थित भेरी नदी किनारमै भेटिएको हो ।

मायाका ५ वर्षीय छोरा दीपकको अवस्था भने अझै अज्ञात रहेको छ। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

माया आफ्ना सन्तानसहित सम्पर्कविहीन भएपछि उनीहरू भेरी नदीमा बेपत्ता भएको हुन सक्ने आशंकासहित प्रहरी तथा स्थानीयले खोजी सुरु गरेका थिए।

सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्ले ठेगाना भएकी ३८ वर्षीया माया, ११ वर्षीया छोरी आशा र ५ वर्षीय छोरा दीपक आइतबारदेखि सम्पर्कविहीन भएका थिए। सोमबार बिहान मायाका श्रीमान् भुपेन्द्र कठायतले उनीहरू सम्पर्कमा नआएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले खोजी गर्ने क्रममा घरदेखि करिब ३ किलोमिटर टाढा पर्ने भेरी नदी किनारमा मायाले प्रयोग गर्ने झोला, सल, चप्पल र मोबाइल फोन फेला पारेको थियो। ती सामग्री फेला परेपछि भेरी नदी आसपासमा व्यापक खोजी कार्य थालिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले बताए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully