भेरी किनारमा आमाछोरीको शव भेटियो, ५ वर्षीय छोरा अझै बेपत्ता 

सोमबार बेलुका लेकबेसी नगरपालिका–३ पटारे भन्ने ठाँउमा मायाको शव भेटिएको थियो भने छोरीको शव गुर्भाकोट नगरपालिका–१२ स्थित भेरी किनारमा भेटिएको थियो ।

चैत्र ३, २०८२

ज्योति कटुवाल

Bodies of mother and daughter found on Bheri banks, 5-year-old son still missing

सुर्खेत — सुर्खेत गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायत र उनकी ११ वर्षीया छोरी आशाको शव भेरी नदी किनारमा फेला परेको छ । दुई जनाको शव भेटिए पनि सँगै रहेका ५ वर्षीय छोरा फेला परेका छैनन् । 

सोमबार बेलुका लेकबेसी नगरपालिका–३ पटारे भन्ने ठाँउमा मायाको शव भेटिएको थियो भने छोरीको शव गुर्भाकोट नगरपालिका–१२ स्थित भेरी किनारमा भेटिएको थियो । 

सम्पर्कविहीन भएकी मायाको चप्पल, झोला र मोबाइल नदी किनारमा भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले खोजतलास गर्दा आमाछोरीको शव फेला पारे पनि छोराको अवस्था अझै अज्ञात रहेको जनाएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मायालाई श्रीमानले कुटपिट गर्ने गरेको खुल्न आएको छ । लामो समय भारतमा काम गर्दै आएका मायाका श्रीमान भुपेन्द्र कठायत ६ महिनायता अटो चलाउँदै आएका छन् । अटो चलाउन थालेदेखि माया र भुपेन्द्रबीच खटपट सुरु भएको प्रहरीको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । 

इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी प्रमुख प्रकाश केसीले मायाका माइती र घरपरिवारसँग भेटेर अनुसन्धान गरिरहेको बताए । ‘अहिलेसम्म छोरालाई फेला पार्न सकिएको छैन, कतैबाट जाहेरी पनि आएको छैन,’ उनले भने, ‘हामीले श्रीमानलाई निगरानीमा राखेका छौं । घटनाको प्रकृति हेर्दा घरेलु हिंसाजस्तो नै देखिन्छ ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बलकको खोजी जारी छ ।’

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully