अत्यन्तै भिरालो र कडा चट्टानी भू-भागमा भएको करिब ३५ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा सरकारले नेपाली सेनालाई दिने निर्णय गरेकाे हो।
What you should know
डोल्पा — वर्षौँदेखि अधुरो रहेकाे भेरी करिडोर अन्तर्गतकाे लासिक्याप–सिसौल सडकखण्ड निर्माणकाे जिम्मा नेपाली सेनालाई दिइएको छ। अत्यन्तै भिरालो र कडा चट्टानी भू-भागमा भएको करिब ३५ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा सरकारले नेपाली सेनालाई दिने निर्णय गरेकाे हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईंले चैत १ मा बसेको मन्त्रिपरिषद् बैठकबाट भेरी करिडोरको महत्वपूर्ण खण्ड लासिक्याप–सिसौल सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय भएकाे बताए।
दुर्गम भूगोल र कठिन भौगोलिक अवस्थाका कारण सडकको मापदण्ड अनुसार ट्रयाक खोल्न कठिन भएपछि सेनालाई जिम्मा दिइएको उनले बताए । अब सरकारले छिट्टै बजेट व्यवस्थापन गरेर सेनाले निर्माणकाे प्रक्रिया अघि बढाउने पनि उनले बताए ।
यो खण्ड निर्माण सकिएर भेेरी करिडोरले पूर्णता पाएमा कर्णाली प्रदेशकाे हिमाली पर्यटनकाेे विकास तथा प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने डाेल्पाबाट नवनिर्वाचित सांसद धनबहादुर बुढाले बताए ।
भेरी करिडोर बाँकेको जमुनाहबाट सुरु भएर सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिम हुँदै डोल्पाको दुनै, धो र तिन्जे पार गर्दै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानासम्म पुग्ने रणनीतिक सडक आयोजना समेत हो।
नेपाल, भारत र चीनलाई जोड्ने सम्भावना बोकेको यो सडक आर्थिक, व्यापारिक तथा कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। भेरी करिडोर आयोजना कार्यालय जाजरकोटका अनुसार सुर्खेतको छिन्चुदेखि डोल्पाको मोरिम्लासम्म करिब ३ सय १७ किलोमिटर सडक पर्छ। यसमध्ये छिन्चुदेखि जाजरकोटसम्मको करिब १ सय ७ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।
त्यसैगरी जाजरकोटको खलंगा बजारदेखि रिम्ना हुँदै तल्नुबगरसम्मको करिब ५६ किलोमिटर सडक यसअघि नै कालाेपत्र भइसकेको छ । २०७५ सालमै ट्र्याक खुलेको भेरी करिडोरको तल्नुबगरदेखि दुनैसम्मकाे ६१ किलोमिटर खण्डकाे स्तरोन्नतिको चरणमा रहेको छ ।
तल्नु-त्रिवेणी र त्रिवेणी-दुनै गरेर डेड अर्व लागतका दुइवटा ठेक्का लागेर पनि काम सुरु भइसकेको भेरी करिडोर कार्यालयले जाजरकोटले जनाएको छ । दुनैदेखि ल्यासीक्यापसम्मको २५ किलोमीटर सडक निर्माणकालागि तीन बर्ष अघिनै ठेक्का लागे पनि काम सम्पन्न हुन सकेको छैन् ।
सडक निर्माण सम्पन्न भएमा डोल्पाका प्रसिद्ध पर्यटकीय स्थलहरू फोक्सुण्डो ताल, जगदुल्ला ताल, सुलिगाड झरना, छार्का भोट बस्ती र त्रिपुरासुन्दरी भगवती मन्दिरमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ। मोरिम्लादेखि सिसौलसम्मको ४० किलोमिटर ट्रयाक यसअघि नै खुलिसकेको छ ।
