प्राविधिक टोलीले मर्मत कार्य गरेपछि कल्भर्ट पुनः सञ्चालनमा आएको हो।
डोल्पा — ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाको सिमानामा पर्ने भित्तीस्थित कल्भर्ट भासिएको एक दिनपछि मर्मत गरी पुनः सञ्चालनमा आएको छ। कल्भर्ट मर्मत गरी सञ्चालनमा आएपछि उक्त सडक खण्डमा सवारीसाधनको आवागमन सहज बनेको हो।
भेरी करिडोर सडक आयोजनाअन्तर्गत पर्ने उक्त कल्भर्ट शनिबार दिउँसो ट्रक गुडिरहेका बेला भासिएको हो। भासिएको पुल मर्मत गरी सञ्चालनमा ल्याउन ठूलीभेरी नगरपालिकाका प्रमुख सुवर्ण बुढा, प्रमुख जिल्ला अधिकारी जुनु हमाल तथा भेरी करिडोर सडक आयोजना कार्यालयबीच समन्वय गरिएको थियो।
प्राविधिक टोलीले मर्मत कार्य गरेपछि कल्भर्ट पुनः सञ्चालनमा आएको हो। कल्भर्ट सञ्चालनमा आएसँगै डोल्पाको सदरमुकाम जोड्ने उक्त सडक खण्डमा सवारी आवागमन सहज भएको स्थानीयले बताए।
