प्रमुख जिल्ला अधिकारी जुनु हमालले पुल भासिएको स्थानमा यातायात आवागमन सहज बनाउन सम्बन्धित निकायलाई आवश्यक व्यवस्था गर्न निर्देशन दिइसकेको बताइन्।
डोल्पा — डोल्पाको ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाको सिमानामा पर्ने भित्तीस्थित कल्भर्ट भासिँदा सवारीसाधनको आवतजावत प्रभावित भएको छ।
भेरी करिडोर सडक आयोजनाअन्तर्गत पर्ने उक्त पुल शनिबार दिउँसो ट्रक गुडिरहेका बेला भासिएको हो।
पुल भासिएपछि उक्त सडक खण्डमा सवारीसाधन सञ्चालनमा समस्या भएको स्थानीयले बताएका छन्। पुल क्षतिग्रस्त भएपछि डोल्पाको सदरमुकाम जोड्ने मुख्य सडक अवरुद्धजस्तै बनेको छ। वैकल्पिक व्यवस्था नभएकाले यात्रु र ढुवानीवाला सवारीसाधनलाई समस्या भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी जुनु हमालले पुल भासिएको स्थानमा यातायात आवागमन सहज बनाउन सम्बन्धित निकायलाई आवश्यक व्यवस्था गर्न निर्देशन दिइसकेको बताइन्। उनका अनुसार क्षतिग्रस्त पुलको अवस्था मूल्यांकन गरी मर्मतको प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ।
स्थानीयले भने पुल भासिएको दुई दिन बितिसक्दा पनि मर्मत कार्य सुरु नभएकाले सवारी साधन आवागमनमा समस्या भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
