आम्दानीको स्रोत बन्दै मौरीपालन

चौलागाईँले वार्षिक मह बिक्री गरेरै एक लाख ५० हजार रुपैयाँ कमाइरहेका छन् ।

चैत्र १, २०८२

डीबी बुढा

Beekeeping becomes a source of income

What you should know

जुम्ला —  

जिल्लाका किसानका लागि मौरी पालन आम्दानीको राम्रो स्रोत बन्दै गएको छ । पछिल्लो समय बढ्दै गएको महको मूल्यले किसानलाई मौरीपालनतर्फ पनि उत्सुक बनाइरहेको छ । अहिले महको मूल्य जुम्लामै प्रतिकेजी २ हजार ५ सय रुपैयाँ छ । 

जुम्ला चन्दननाथ नगरपालिका–४ का नारायण चौलागाईका १६ वटा मौरीघार छन् । उनी हरेक वर्ष एक घारदेखि पाँच केजी मह निकाल्छन् । वर्षेनी ८० केजी मह उत्पादन हुने गरेको छ । केही मह आफैं प्रयोग गर्छन् त केही स्थानीय बजारसम्म पुर्‍याउँछन । चौलागाईँले वार्षिक मह बिक्री गरेरै एक लाख ५० हजार रुपैयाँ कमाइरहेका छन् ।

चौलागाईँ मौरीपालनबारेको प्रशिक्षक पनि हुन् । उनी हरेक बस्तीमा पुगेर मौरीपालनको अवस्था बुझ्दै मौरीमा देखिएको समस्याका बारेमा समेत गहिरो अध्ययन गरिरहन्छन् । 

चन्दननाथ ३ का धनजीत बुढा २० घारबाट न्युनतम एक क्विन्टल मह निकाल्ने गर्छन् । २ लाख ५० हजार रुपैयाँ उनले मह बेचेरै कमाउने गर्छन् । उनका लागि मौरीपालन व्यवसाय आम्दानीको राम्रो स्रोत बनिरहेको छ । जुम्लामा एपि सेराना सेराना जातको मौरीपालन हुने गरेको छ ।

उनीसँग नासोको रुपमा अष्ट्रेलिया लगायतका युरोपीयन देशहरुमा मह पठाउने गरेको अनुभव छ । नेपालगञ्ज, काठमाडौं, पोखरा र सुर्खेत लगायतमा हुने कृषि प्रदर्शनीमासमेत जुम्लाको मह राख्ने गरेको उनले बताए । 

‘पहिले भीर पहरामा घार राख्ने चलन थियो,’ उनले भने, ‘अहिले घरवरिपरि मात्रै पालन गर्ने चलन छ ।’

जुम्लामा व्यवसायिक मौरीपालन हुन सकिरहेको छैन । पहिले मौरीमा रोगको संक्रमण थियो । अहिले रोग हट्दै गएको छ । यहाँ परम्परागत घार भन्दा पनि न्युटन घर अनुकुल हुने गरेको किसानहरु बताउँछन् । अहिले चरन क्षेत्रको अभावले मौरीलाई कृत्रिम आहरा दिनुपर्ने बाध्यता छ । महको मुल्य अत्यधिक छ तर मौरीपालनमा चुनौती छ ।

Beekeeping becomes a source of income

जिल्लास्थित मौरीपालन सहकारीको तथ्यांक अनुसार ५ सय भन्दा धेरै किसानले मौरी पालन गरिरहेका छन् । न्युनतम ५ घारदेखि अधिकतम ६० घार सम्म मौरीपालन भइरहेको छ । पछिल्लो समयमा खडेरीको प्रकोप बढिरहेको छ । ‘फूलहरु फुले पनि रस भरिएको हुँदैन । अहिले जिल्लामा एक हजार ६ सय घार छन् । जसबाट बर्सेनी न्युनतम २ करोड रुपैयाँ भित्रिने गरेको छ,’ धनजीतले भने, ‘अब एक स्याउ बगैंचामा, एक मौरीघार राख्ने नीति बनाउनुपर्ने देखिन्छ ।’

उनका अनुसार घार सफा नहुने, कृषिबालीमा बढ्दो विषादीको प्रयोग र मैन पुतलीको संक्रमणले मौरी बचाउन कठिन हुने गरेको छ । भालु, मलसाब्रो, अरिङगाल र छेपारोदेखि पनि खतरा उत्तिकै छ । पटक–पटक सरकारसँग मौरी बचाउने नीति ल्याउन माग गरिएको भए पनि सुनुवाइ भएको छैन ।

विगत पाँच वर्षदेखि मौरी बिमाको अवधारणा ल्याउन किसानले आग्रह गरिरहेका छन् । न जिल्लास्थित कृषि कार्यालयले पहल गर्न सकेको छ, न त प्रदेश र संघ सरकारले नै चासो दिइरहेको छ । उल्टै बर्षेनी मौरी मरिरहेको टुलुटुलु हेरेर बस्नुपरेको किसानको गुनासो छ । 

किसानहरुले जिल्लामा मौरी विज्ञ पठाइदिन माग गरेका छन् । अहिले मौरी सम्बन्धि काम गर्ने विज्ञ नहुँदा किसानले अवस्था अनुसारको सीप र ज्ञान प्राप्त गर्न सकिरहेका छैन । जिल्लाको पातारासी, गुठीचौर, कनकासुन्दरी र तिला गाउँपालिकामा मौरीपालनको राम्रो सम्भावना छ । यता जिल्ला कृषि विकास कार्यालय जुम्लाले गत वर्ष मौरी प्रवर्द्धनका कार्यक्रम ल्याएपनि यो पटक मौरी सम्बन्धिका कुनै पनि कार्यक्रम नभएको जनाएको छ । सूचना अधिकारी दीपकसिंह धामीले जिल्लामा मौरीको तथ्यांक समेत नभएको बताए । ‘न मौरीको तथ्यांक छ, नत मौरी प्रवर्द्धन कार्यक्रम नै,’ सूचना अधिकारी धामीले भने, ‘आगामी बर्षको लागि छलफल भइरहेको छ ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully