'बुबालाई बचाइदिनूस्, हामी पढ्न चाहन्छौं'

'हाम्रा बुबालाई बचाइदिनूस्, हामी पढ्न चाहन्छौं,' छोराछोरीले सहयोगी मनहरूसँग गरेको सामूहिक बिन्ती अपिलले आफूलाई ज्यादै दु:खी बनाउने गरेको श्रीमती मनकुमारीले सुनाइन्।

फाल्गुन ३०, २०८२

रामचन्द्र न्यौपाने

'Please save my father, we want to study'

What you should know

डोल्पा — घरको लिस्नोबाट लडेर ढाडमा समस्या भएपछि डोल्पाको ठूलीभेरी नगरपालिका–७ कोल्ला गाउँका ३८ वर्षीय हरिबहादुर बुढा सात वर्षदेखि ओछ्यान परेका छन्। उपचार अभावमा उनको आधा शरीर चल्न छाडेको छ भने शरीरका घाउसमेत बिग्रिँदै गएका छन्। 'मलद्वार र खुट्टामा भएका घाउले असाध्यै दु:ख दिइरहेका छन्,' उनले भने ।

आर्थिक अभावका कारण उपचार गर्न नसक्दा हरिबहादुर अहिले जीवनमरणको दोसाँधमा छन्। परिवारको मुख्य अभिभावक नै थला परेपछि उनको परिवार झनै ठूलो संकटमा परेको छ। गाउँघरबाट चन्दा उठाएर काठमाडौंस्थित वीर अस्पतालमा उपचारका लागि लगिए पनि पैसा अपुग भएपछि उपचार पूरा नगरी घर फर्काएको परिवारजनले बताए । हरिबहादुरका दुई छोरा र दुई छोरी छन्। 

कमजोर आर्थिक अवस्थाका कारण बालबालिकाको पालनपोषण र पढाइसमेत प्रभावित भएको श्रीमती मनकुमारीले बताइन्। 'हाम्रा बुबालाई बचाइदिनूस्, हामी पढ्न चाहन्छौं,' छोराछोरीले सहयोगी मनहरूसँग गरेको सामूहिक बिन्ती अपिलले आफूलाई ज्यादै दु:खी बनाउने उनले सुनाइन् । 

३६ वर्षीया श्रीमती मनकुमारीले श्रीमान‍्को उपचारका लागि ठूलो रकम आवश्यक पर्ने तर परिवारको अवस्था अत्यन्त कमजोर भएकाले उपचार सम्भव नभएको बताइन्। 'दिनभर श्रीमान‍्लाई कुर्नुपर्छ। बाहिर गएर काम गर्ने अवस्था पनि छैन। बालबालिकालाई खान-बस्न र पढाउनै गाह्रो भएको छ,' उनले भनिन्।

उनका अनुसार सात वर्षअघि घरको लिस्नोबाट लडेर गम्भीर घाइते भएका हरिबहादुरको समयमै प्रभावकारी उपचार हुन सकेन। त्यसयता उनी ओछ्यानमै छन्। 'पलपल मरेर बाँचेको जस्तो उहाँको अवस्था देख्दा कहिलेकाहीँ म पनि कहाँ गएर मरौं जस्तो लाग्छ,' मनकुमारीले आँसु झार्दै भनिन्।

परिवारले हरिबहादुरको उपचार तथा बालबालिकाको पढाइका लागि सरकार, विभिन्न संघसंस्था तथा देश–विदेशमा रहेका सहयोगी नेपाली मनहरूसँग आर्थिक सहयोगको अपिल गर्दै आएको छ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully