सानीभेरी नदीपारि भोजमा गएका तीन किशोरीमध्ये भोलिपल्ट बिहान दुई जनाको शव बगरमा भेटियो, अर्की किशोरीबारे बिहीबार साँझसम्म केही पत्ता लाग्न सकेको छैन
रुकुम पश्चिम — बिहे भोजमा गएका दुई छोरीलाई एकैपल्ट गुमाएपछि बाँफिकोट गाउँपालिका–३ गरालाबोटकी पविता ओली विक्षिप्त अवस्थामा छिन् । बेला–बेलामा टोलाउने र बेहोस भइरहने उनका आँखाबाट ‘सानीभेरी’ जस्तै बगिरहेका आँसु रोकिन सकेका छैनन् । गत सोमबार साँझ नदीपारिको बस्तीमा बिहे भोज खान गएका दुई छोरी कल्पना र उर्मिला मंगलबार बिहान सानीभेरी नदी छेउमा मृत अवस्थामा भेटिएका थिए ।
सोमबार साँझ ५ बजेतिर कल्पना, उर्मिलासँगै छोरा अमृत र जेठाजुकी छोरी सपना सानीभेरी नदीमाथिको झोलुंगे पुल तरेर करिब १ घण्टा टाढा रहेको मुसीकोट नगरपालिका–१ स्थित भलखोलामा साथीको बिहेमा सहभागी हुन गएको पविताले बताइन् । राति कल्पना, उर्मिला र सपना बिहे घरबाट आफ्नो घरतिर फर्किए तर घर पुगेनन् । भोलिपल्ट बिहान साढे ८ बजेतिर करिब २ सय मिटरको फरकमा घरदेखि तल रहेको नदी किनारमा कल्पना र उर्मिलाको शव भेटियो, सपना भने अहिलेसम्म बेपत्ता छिन् ।
घरबाट सँगै गएका उनीहरूका दाइ १८ वर्षीय अमृतले आफूले बिहे घरमा बहिनीहरूलाई राति ८ बजेसम्म देखेको बताए । ‘८ बजेपछि मैले उनीहरूलाई त्यहाँ देखिनँ, घर आए होलान् भन्ठानें, म भने राति १२ बजेतिर फर्किएर साथीकैमा सुतें, भोलिपल्ट बिहान यस्तो घटना भयो,’ उनले भने ।
मंगलबार बिहान गाउँलेले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शव कल्पनाको भन्ने पहिचान खुल्यो । साथैमा गएका उर्मिला र सपनाबारे सोधीखोजी गर्दा केहीबेरमा करिब २ सय मिटर तल उर्मिलाको पनि शव भेटियो । सपनाका बारेमा भने अत्तोपत्तो भएन ।
छोरीहरू गुमाएकी आमा पविता र परिवार शोकमा डुबेको छ भने पविताका जेठाजुकी छोरी सपनाको बिहीबार साँझसम्म केही पत्ता लाग्न सकेको छैन । सपनाका बुबा लोकबहादुर र आमा डिलसरा पनि विक्षिप्त छन् । बुधबार मृतक उर्मिला र कल्पनाको पोस्टमार्टम गरेर सोही दिन अन्त्येष्टि गरिएको छ । सपनाको खोजीका लागि आफन्त र प्रहरी नदी छेउछाउ खटिएका छन् ।
१३ वर्षीया उर्मिला र सपना मुसीकोट–१ मा रहेको त्रिपुरा माविमा कक्षा ६ मा पढ्थे । ११ वर्षकी कल्पना गाउँकै जनहित आविमा कक्षा ५ मा पढ्थिन् । घरबाट करिब १ घण्टा दूरीमा नदीपारि रहेको विद्यालयमा एक वर्षदेखि पुल तरेर उनीहरू घर–स्कुल आवतजावत गरिरहन्थे । यसकारण उनीहरूका लागि यो बाटो नयाँ थिएन । बिहेबाट फर्कने बेलामा नदी तर्दा उनीहरूलाई बगाएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निरीक्षक हरिप्रसाद पुनले उनीहरू नदी तर्ने क्रममा बगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । ‘हामीले घटनास्थलदेखि शवको अवस्था र अरू विषय–प्रसंगमा अनुसन्धान गर्यौं तर थप शंका गर्ने ठाउँ देखिएको छैन,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट आइनसके पनि चिकित्सकले पानीमा डुबेकै कारण दुवैको ज्यान गएको बताएका छन् ।’
पविताका तीन छोरी र एक छोरा गरी चार सन्तान छन् । यसमध्ये उर्मिला तेस्रो र कल्पना कान्छी सन्तान हुन् । श्रीमान्ले दुई वर्षअघि अर्कै महिलासँग बिहे गरेर आफूहरूको सम्पर्कमै नरहेको उनले बताइन् । बेपत्ता भएकी सपनाका बाआमाले छोरीको खोजीका लागि आग्रह गरेका छन् । पीडित परिवारको सम्पर्कमा रहने र कुनै पनि शंका लाग्ने विषय पाइए थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
