जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार खुलामञ्चमा औपचारिक कार्यक्रमको आयोजना गरी १ हजार ६ सय २८ जना निर्वाचन प्रहरी सामूहिक बिदाइ गरेको हो।
सुर्खेत — फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी बिदा भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार खुलामञ्चमा औपचारिक कार्यक्रमको आयोजना गरी १ हजार ६ सय २८ जना निर्वाचन प्रहरी सामूहिक बिदाइ गरेको हो।
निर्वाचनको लागि गने सुर्खेतमा माघ १८ गते १ हजार ६ सय २८ जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो । आम निर्वाचनको सुरक्षा व्यवस्थापनमा निर्वाच प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरणसमेत गरेका थिए ।
सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले बिदाइ कार्यक्रममा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा निर्वाचन प्रहरीको सबैभन्दा महत्त्वपूर्ण योगदान रहेको बताए । ४० दिने कार्य अवधिमा सिकेको ज्ञान, सिप र तालिमले व्यक्तिगत तथा सामाजिक जीवनमा काम लाग्ने उनको भनाई छ । सुरक्षा बलको तालिमले मेहनत, परिश्रम, अनुशासन र समय व्यवस्थापन सिकाएको कुराहरु दैनिक जीवनमा काम लाग्ने निर्वाचन प्रहरी कमला खड्काले बताइन् ।
‘हामीले आफ्नो जिम्मेवारी पूरा गरेर घर फर्किएका छौँ’, उनले भनिन, ‘अबको स्थानीय तह र प्रदेशको निर्वाचनमा हामीलाई अवसर प्राप्त होस् ।’
सुर्खेत प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले राज्यले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन प्रहरीलाई धन्यवाद दिए। उनले आगामी प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पनि उनीहरुलाई सहभागी हुन आग्रह गरे।
रासन भत्ता, पोशाक खर्च, तलब, परिचालन खर्च र खाजा खर्च गरेर ५२ हजार बैंक खातामार्फत भुक्तानी भइसकेको छ । निर्वाचन प्रहरीलाई ४० दिन बराबरको पारिश्रमिक उपलब्ध गराइएको छ ।
