डोल्पालाई स्याउ 'सुपरजोन' बनाउन माग

डोल्पाको ठूलीभेरी नगरपालिकाका ११ वटा वडा, जगदुल्ला गाउँपालिकामा ६ वडा र त्रिपुरासुन्दरी नगरपालिकाको वडा ३ र ४ गरी १९ वटा वडामा स्याउ जोन कार्यक्रम संचालनमा छ ।

फाल्गुन २८, २०८२

रामचन्द्र न्यौपाने

Demand to make Dolpa an apple 'superzone'

What you should know

डोल्पा — हिमाली जिल्ला डोल्पालाई स्याउ सुपरजोनको रुपमा विस्तार गर्न माग गरिएको छ । बिहीबार जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको बैठकले डोल्पालाई स्याउ सुपरजोनको रुपमा विस्तार गर्न प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिलाई माग गर्ने निर्णय गरेको हो।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ डोल्पाले जिल्लामा स्याउ जोन र सिमी जोन निर्माण गरेर स्तरीय काम गरेको भन्दै बैठकले स्याउ सुपरजोनका रुपमा लागू गर्न संघ र प्रदेशमा माग गर्ने निर्णय गरेको हो ।

बैठकमा हालसम्म जिल्लाका विभिन्न ठाउँमा संचालित सिमी जोन र स्याउ जोनको प्रगतिबारे समीक्षा तथा छलफल गरिएको छ। यससँगै जिल्लाको उत्पादनलाई बृद्वि गरी बजारीकरणमा जोड दिनुपर्ने माग गरिएको छ। बैठकबाट स्याउ जोनको स्तरोन्नति गरी स्याउ सुपरजोन, बाख्रा, च्याङ्‌ग्राको नयाँ जोन, रैथाने बालीको नयाँ जोन माग गर्ने निर्णय गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम कार्यन्वयन एकाइ डोल्पाका निमित्त कार्यालय प्रमुख गोविन्दबहादुर मल्लले जानकारी दिए ।

यसका साथै डोल्पाको हावापानी र माटोको अध्ययन गरी हावापानी र माटो सुहाँउदो फलफूल तथा बाली वस्तुको उत्पादनमा जोड दिई डोल्पामा उत्पादित स्याउ र सिमीको बजारीकरण, विविधिकरण र भण्डारणका लागि थप कार्यक्रम संचालन गर्ने र संचालित आयोजनालाई निरन्तर‌ताका लागि सिफारिस गर्ने निर्णय गरिएको मल्लले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नामले २०७६/०७७ देखि सुरु भएको हाल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यन्वयन एकाइले हालसम्म डोल्पामा करिब १८ करोड ८१ लाख बराबरको लगानी गरिसकेको छ ।  

डोल्पाको ठूलीभेरी नगरपालिकाका ११ वटा वडा, जगदुल्ला गाउँपालिकामा ६  वडा र त्रिपुरासुन्दरी नगरपालिकाको वडा ३ र ४  गरी १९ वटा वडामा स्याउ जोन कार्यक्रम संचालनमा छ । मुड्केचुला गाउँपालिकाकाका ९ वटा वडा र काईके गाउँपालिकाका ७ वडामा गरी १६ वटा वडामा दलहन बाली सिमी जोन कार्यक्रम संचालन भइरहेको कार्यालयले जनाएको छ ।

कार्यालयले स्थापनाकालदेखि हालसम्म २ सय १२ वटा साना सिँचाइ निर्माण गरी १ सय २५  हेक्टर क्षेत्रफलमा सिँचाइ, १९ वटा नर्सरी स्थापना, ९२ वटा विभिन्न प्रकार मेसिनरी सामग्री वितरण, १४ वटा घेराबार निर्माण, व्यवसाय मार्फत २ हजार ७३ जनालाई सिजनल रोजगारी र ४१ जनालाई पूर्ण रोजगारी, ४ सय ४३ जना कृषकलाई तालिमलगायतका विभिन्न सचेततामूलक कार्यक्रम मार्फत कृषकहरुलाई अवसर दिएको बताइएको छ ।

जिल्लामा संचालित स्याउ र सिमी जोनलाई सुपर जोनमा रुपान्तरण गर्न सम्बन्धित निकायमा पहल गरिने कार्यक्रमका अध्यक्ष रोकायाले बताए।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully