आठ वर्षमा बल्ल बन्यो बबईमा पुल

पुल योजना मध्य तथा सुदूरपश्चिम सेक्टर नं ३ नेपालगन्ज कार्यालयका सूचना अधिकारी रामकिसुन थारुले पहिलो पिलरका लागि खाल्टो खन्दा जमिनमुनि ठूलो चट्टान भेटिएपछि खाल्टो खन्न नसक्दा दुई वर्षभन्दा बढी समय रोकिएको र डिजाइन बदल्न समय लागेकाले पुल निर्माणको काममा ढिलाइ भएको बताए ।

फाल्गुन २७, २०८२

विप्लव महर्जन

The bridge in Babai was finally built after eight years.

What you should know

सल्यान — जिल्लाको सदरमुकामदेखि कालिमाटी–दम्दवाली–घुइयावारी–चप्परगौरी हुँदै नेपालगन्ज जोड्ने सडक खण्डअन्तर्गत कालिमाटी गाउँपालिका–७ घुइयावारीस्थित बबई नदीमा निर्माणाधीन पक्की पुल आठ वर्षमा बल्ल सम्पन्न भएको छ । 

तीन वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि विभिन्न कारण देखाउँदै म्याद थप्दै निर्माण कम्पनीले ढिलाइ गर्दा पक्की पुल सम्पन्न गर्न आठ वर्ष लागेको हो । 

संघीय सरकारले २०७३/०७४ मा पुल निर्माण गर्न १६ करोड विनियोजन गरेको थियो । पुल योजना मध्य तथा सुदूरपश्चिम सेक्टर नं ३ नेपालगन्ज कार्यालयले टेन्डर गरेको योजनाको काम गर्ने जिम्मेवारी रसुवा इलाइट जेभीले पाएको थियो । निर्माण कम्पनीले २०७४ असार ९ मा सम्झौता गरेको थियो । पाँचवटा पिलर रहेको पक्की पुलको लम्बाई १ सय ८० मिटर रहेको थियो । 

पक्की पुल ढिलै भए पनि निर्माण कार्य सम्पन्न भएपछि घुइयावारीका स्थानीयलाई धेरै सहज भएको छ । वर्षातको समयमा जोखिम उठाउँदै नदी तर्न बाध्य हुने र हिँडेर आउजाउ गर्ने स्थानीय अहिले गाडीमा आउजाउ गर्न थालेका छन् । पक्की पुल निर्माण कार्य सम्पन्न भएपछि अहिले वडा नं ७ घुइयावारी पालिकासँग मात्र नभई जिल्लाको सदरमुकाम खलंगा सडक संजालमा जोडिएको छ । 

रातीको समयमा बिरामी भएकालाई स्टेचरमा बोकेर स्वास्थ्य संस्था तथा अस्पताल लैजान धेरै समस्या हुने गरेकामा पक्की पुल बनेपछि अहिले घर नजिकैसम्म गाडी आएर लग्ने गरेको स्थानीय नरबहादुर रानाले बताए । पुल बनेपछि नेपालगन्जबाट घुइयावारी आउने गाडी अहिले वडा नं ६ सम्म पुग्ने गरेको र निकुञ्ज क्षेत्रमा सडक खुलेपछि सिधै घुइयावारीबाट पालिका केन्द्र पुतलीबजार, रामपुर र खलंगा जाने पाइने उनले सुनाए ।

‘पहिला पुल र सडक नबन्दा सल्यानको खलंगाका सरकारी कार्यालयमा काम गर्न जानु परेमा सुर्खेत, नेपालगन्ज, दाङ हुँदै जानु पर्थ्यो । सिधै गाडीमा जाँदा ६ घन्टा बढी समय लाग्थ्यो । कार्यालयको काम समयमै सकिए पनि घर फर्कंदा बाटोमा बास बस्नु पर्थ्यो । अहिले एकै दिनमा काम सकेर घर फर्किन सकिन्छ,’ उनले भने । 

कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले २०७४ मा सम्झौता भएको योजना निर्माण कम्पनीले दुई वर्षपछि शिलान्यास गरेको र विभिन्न कारण देखाउँदै काम नगर्दा तोकेको समयमा काम सम्पन्न गर्न नसकेको बताए । ढिलै भए पनि काम सम्पन्न गरेपछि वडा नं ७ का सबै र ६ का केही बस्तीका स्थानीयलाई सहज भएको उनले जानकारी गराए । उनले भने, ‘पुल नबन्दा विद्यालय जाने बालबालिका बबई नदी तरेर विद्यालय जान बाध्य हुन्थे । अहिले पुलबाटै सहजै विद्यालय आउजाउ गर्छन् । वर्षातको समयमा नदीमा पानीको सतह बढ्दा तर्न नसकेर विद्यार्थी नियमित विद्यालय जान पाउँदैनथे । कहिलेकाहीं त बाटैबाट फर्कन्थे । अब वर्षातको समयमा बीच बाटोबाटै घर फर्कनु पर्दैन ।’ 

पुल योजना मध्य तथा सुदूरपश्चिम सेक्टर नं ३ नेपालगन्ज कार्यालयका सूचना अधिकारी रामकिसुन थारुले पहिलो पिलरका लागि खाल्टो खन्दा जमिनमुनि ठूलो चट्टान भेटिएपछि खाल्टो खन्न नसक्दा दुई वर्षभन्दा बढी समय रोकिएको र डिजाइन बदल्न समय लागेकाले पुल निर्माणको काममा ढिलाइ भएको बताए । पटक–पटक म्याद थप गरेपछि गत असारमा मात्र निर्माण कम्पनीले सम्पन्न गरेको उनले जानकारी गराए । उनका अनुसार १६ करोड बजेटको पक्की पुल १ सय ८० मिटर लम्बाइको रहेको छ । इलाइट कम्पनीले काम नगरी त्यत्तिकै छाडेपछि पछिल्लो समय रसुवा कम्पनीलाई काम गर्ने जिम्मा दिइएको उनको भनाइ छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully