२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा २०८२ सालको निर्वाचनमा झन्डै १ हजार ५ सयले बदर मत कम भएको तथ्यांकले देखाएको हो।
डोल्पा — हिमाली जिल्ला डोल्पामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मत घटेको देखिएको छ । २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा २०८२ सालको निर्वाचनमा झन्डै १ हजार ५ सयले बदर मत कम भएको तथ्यांकले देखाएको हो।
जिल्ला निर्वाचन कार्यालय डोल्पाका अनुसार भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन (प्रत्यक्ष) मा कुल १६०१९ मत खसेको थियो । त्यसमध्ये १५ हजार ५०६ सदर र ५ सय १३ बदर भएको छ ।
समानुपातिकतर्फ भने डोल्पामा १६ हजार ५ सय ४४ मत खसेको थियो । त्यसमध्ये १६ हजार १ सय ३ मत सदर र ४ सय ४१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार २०७९ को निर्वाचनमा कुल १९ हजार ८ सय ३७ मत खसेको थियो। त्यसमध्ये १७ हजार ५ सय २१ मत सदर भएको थियो भने १ हजार ९ सय ९९ मत बदर भएको थियो ।
यसरी तुलना गर्दा २०७९ को निर्वाचनमा भन्दा २०८२ को निर्वाचनमा १ हजार ४ सय ८६ मत कम बदर भएको देखिन्छ। जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठका अनुसार मतदाता शिक्षा कार्यक्रम, मतदान प्रक्रियाबारे बढ्दो जनचेतना र मतदान केन्द्रमा दिइने सहजीकरणका कारण बदर मत घट्न मद्दत पुगेको हो ।
