ट्युसन पढ्न निस्किएकी किशोरी जंगलमा मृत फेला

किशोरीको परिवारले कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी उजुरी दिएपछि शनिबार एक जना र मंगलबार तीन जना पक्राउ परेका छन् ।

फाल्गुन २६, २०८२

कृष्णप्रसाद गौतम

Teenage girl found dead in forest after going to study for tuition

सुर्खेत — वीरेन्द्रनगरमा शनिबार बिहान ट्युसन पढ्न घरबाट निस्किएकी किशोरीको शंकास्पद मृत्युपछि चार जना पक्राउ परेका छन् । किशोरीको परिवारले कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी उजुरी दिएपछि शनिबार एक जना र मंगलबार तीन जना पक्राउ परेका हुन् ।

वीरेन्द्रनगर–१ की १६ वर्षीया इनिसा विक गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारका लागि प्रदेश अस्पताल लाने क्रममा मृत्यु भएको थियो । उनको शव अहिले अस्पतालमै राखिएको छ ।

मृतकको परिवारले सामूहिक बलात्कार भएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुड्थापाले अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जानकारी दिए । ‘सबै कोणबाट घटनाको अनुसन्धान गरिरहेका छौं । प्रदेश अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्ट आइसकेको छैन,’ उनले भने, ‘पक्राउ परेकाहरू नाबालिग हुन् । उनीहरूको बयान सुरु भएको छैन ।’

प्रहरीका अनुसार पुनः पोस्टमार्टम र थप अनुसन्धानका लागि भेरी अस्पताल नेपालगन्जबाट तीन जना विशेषज्ञको टोलीलाई सुर्खेत बोलाइएको छ । इनिसाका बाबु नेपाली सेनाबाट अवकाश पाएपछि रोजगारीका लागि दुबईमा छन् । झन्डै ६ वर्षअघि मृतकका दाइको पनि मृत्यु भएको थियो । इनिसा आमा र भाइसँगै बस्दै आएकी थिइन् । गुर्भाकोट स्थायी घर भएका उनीहरूको घर वीरेन्द्रनगरमा पनि छ ।

परिवारजनका अनुसार शनिबार बिहान करिब ६ बजे ट्युसन पठ्न जान्छु भन्दै इनिसा घरबाट निस्किएकी थिइन् । घटनाबारे जानकारी पाएर सामुदायिक वनमा पुग्दा उनी रगताम्मे अवस्थामा फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविकता खुल्ने जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले बताए ।

जिल्लाका अधिकारवादी संघसंस्थाले गम्भीर अनुसन्धान र कारबाहीको माग गर्दै जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयलगायत निकायमा ध्यानाकर्षण पत्र बुझाएका छन् । ‘अत्यन्त दुःखद, अमानवीय र निन्दनीय घटना भयो, निष्पक्ष छानबिन गरी संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ,’ इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले भने, ‘प्रशासनले पीडित परिवारलाई शीघ्र न्याय दिलाउनुपर्छ, महिला तथा बालिकामाथि हुने यौनहिंसा र अपराधका घटनाको रोकथामका लागि प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी तथा सचेतनामूलक कार्यक्रमलाई अझ सुदृढ बनाउन जरुरी देखियो ।’

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully