डाेल्पाका उम्मेदवारले सार्वजनिक गरे चुनावी खर्च विवरण

जिल्ला निर्वाचन कार्यालय डोल्पामा पेस गरिएको खर्च विवरणअनुसार सबैभन्दा कम ३९ हजारदेखि बढीमा १८ लाख ९९ हजार रुपैयाँसम्म खर्च भएको देखाइएको छ ।

फाल्गुन २६, २०८२

रामचन्द्र न्यौपाने

Dolpa candidates make election expenditure details public

What you should know

डोल्पा —  

हिमाली जिल्ला डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरूले आ-आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारहरूले निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डोल्पामा पेस गरेका हुन्।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार तथा नवनिर्वाचित सांसद धनबहादुर बुढाले निर्वाचन अवधिभर १० लाख २ हजार रुपैयाँ खर्च भएको जनाएका छन्। उनले निर्वाचन कार्यालयमा बुझाएको विवरणअनुसार जिप भाडामा ५ लाख, खाना तथा खाजामा १ लाख ९२ हजार, मतदातालाई प्रशिक्षणमा ९१ हजार, नमुना मतपत्र छपाइमा ९४ हजार, मनोयन दर्तामा १० हजार र मतदाता नामावली प्रिन्टमा ३ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

यसैगरी नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायले सबैभन्दा बढी १८ लाख ९९ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्। उनले बुझाएको विवरणअनुसार सवारीसाधन (जिप भाडा) मा ६ लाख २० हजार, नमुना मतपत्र, पोस्टर तथा झण्डामा १ लाख ५० हजार, मतदाता नामावली फोटोकपिमा १० हजार, होटल, खाना, नास्ता तथा बासमा ४ लाख, पेट्रोल खर्चमा ५ लाख, मनोयन दर्तामा १० हजार, मतदाता नामावली प्रिन्टमा ३ हजार तथा होटल त्रिपुराकोटमा खाना, नास्ता र लजमा २ लाख ६ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

त्यस्तै स्वतन्त्र उम्मेदवार ओमेन्द्रबहादुर केसीले भने सबैभन्दा कम ३९ हजार रुपैयाँ खर्च भएको जनाएका छन्। उनले बुझाएको विवरण अनुसार मनोयन दर्तामा १० हजार, पेट्रोलमा ४ हजार, पर्चा–पम्पलेट तथा घोषणापत्र छपाइमा १५ हजार र नास्तामा १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बुढाले निर्वाचन अवधिमा ४ लाख ७३ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्। विवरण अनुसार जिप भाडामा १ लाख ५० हजार, पेट्रोलमा १ लाख ५० हजार, होटल त्रिपुरासुन्दरीमा खाना, नास्ता तथा लजमा १ लाख, नमुना मतपत्रमा ५ हजार, नामावली फोटोकपीमा ५ हजार, मतदाता नामावली खरिदमा ३ हजार र मनोयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवसिंह ऐडीले निर्वाचन अवधिभर २ लाख ७४ हजार ९ सय ५० रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्। उनले बुझाएको विवरणअनुसार होटल खानामा १९ हजार ५ सय, कोठा भाडामा १९ हजार, खाजामा १७ हजार ९ सय ५०, नमुना मतपत्र छपाइमा ९० हजार, मतदाता नामावली फोटोकपिमा ६ हजार, मनोयन दर्तामा १० हजार, मतदाता नामावली खरिदमा ३ हजार, सवारीसाधन (जिप भाडा)मा ७४ हजार र पेट्रोलमा ५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

मंगलबारसम्म नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले भने चुनावी खर्च विवरण बुझाएका छैनन् ।

जिल्ला निर्वाचन कार्यालयमा बुझाइएका विवरणअनुसार उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार, यातायात, खानपान तथा प्रचार सामग्रीमा मुख्य रूपमा खर्च गरेको देखिएको छ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully