बजेट अभावले कर्णाली प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना अलपत्र

सदरमुकाम खलंगादेखि ८ किलोमिटर दूरीमा पर्ने चेरे चौरमा निर्माण हुने बहुवर्षीय गुरुयोजनाले जुम्लालाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउने लक्ष्य लिइएको छ ।

फाल्गुन २६, २०८२

डीबी बुढा

Karnali Institute's multi-year master plan stalled due to budget shortage

जुम्ला — बजेट अभावका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना अलपत्र परेको छ । चन्दननाथ नगरपालिका ३ स्थित चेरे चौरमा बन्न लागेको बहुवर्षीय गुरुयोजना अनुसारका संरचना आर्थिक अभावका कारण रोकिएका छन् । चेरैचौरमा पाँच सय रोपनी जग्गामा बन्न लागेको ६ अर्ब २९ करोड लागतको योजना अघि बढ्न सकेको छैन । 

यो गुरुयोजनाले प्रतिष्ठानको अध्ययन, अध्यापन, अनुसन्धान र स्वास्थ्य सेवाको क्षेत्रलाई विस्तार गर्ने लक्ष्य छ । जस अर्न्तगत २६ वटा संरचना बन्नेछन् । नौ वर्षअघि डीपीआर तयार भएको भए पनि कार्यान्वयनमा आउन नसकेको प्रतिष्ठानले जनाएको छ । १३ जना जग्गादाताले नि:शुल्क रुपमा ५ सय रोपनी जग्गा दिए । सोही अनुसार गुरुयोजना बन्यो, प्रतिष्ठानका रजिष्टार लक्ष्मीचन्द्र महतले भने, ‘अहिले रकम अभावले अघि बढ्न सकिरहेको छैन ।’ अहिले सम्म ७६ करोडको लागतमा शैक्षिक, प्रशासनिक तथा क्वाटर भवन र चेरेचौरमा बेसिक साइन्सको एउटा भवन मात्र बनेको छ । 

रसुवा लामा क्षमादेवी जेभी कम्पन्नीले गुरुयोजना अनुसारका संरचना निर्माण गर्ने जिम्मेवारी पाएको छ । सदरमुकाम खलंगादेखि ८ किलोमिटर दूरीमा पर्ने चेरे चौरमा निर्माण हुने बहुवर्षीय गुरुयोजनाले जुम्लालाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउने लक्ष्य लिइएको छ । कर्णाली प्रदेशका १० जिल्ला सहित सुदूरपश्चिमका ३ जिल्ला गरी १३ जिल्लामा सेवा क्षेत्र रहेको प्रतिष्ठान हालसम्म पनि भाडाकै घरमा पठनपाठन चलाइरहेको छ ।

अहिले जुम्ला बहुमुखी क्याम्पसका भवनहरु देखि भाडाका घरहरुमा समेत पढाइ चलिरहेको छ । ६ अर्बको डीपीआर कागजमा बनेको छ । स्रोत जुटाउन प्रतिष्ठान पदाधिकारीको पहल भइरहन्छ । सरकारी प्राथमिकतामा पर्दैन । दुर्गम भौगोलिक वनावट, स्रोत साधनको सिमितताका बिचसेवा दिइरहेको प्रतिष्ठानलाई हरेक वर्षको बजेटमा उपेक्षा भइरहेको छ । राज्यको असहयोग र जननिर्वाचित प्रतिनिधिको संसदमा कमजोर प्रस्तुतीले गर्दा बहुवर्षीय गुरुयोजना अलपत्र परेको आरोप जुम्लाबासीको छ । पहिले सिटामोल नपाउने कर्णालीले विशेषज्ञ स्वास्थ्य सेवा पाइरहेको छ । पहिले डक्टरी पढ्न महंगो खर्च गरिरहेका कर्णालीबासीले अहिले कर्णालीमै डक्टरी पढारहेका छन,स्थानीय जगतबहादुर रोकायाले भने, ‘तर कर्णाली राज्यको प्राथमिकतामा नपर्दा बर्षेर्नी बजेटमा उपेक्षा भोगिरहेको छ ।’

पटकपटक प्रतिष्ठानको गुरुयोजना अलपत्र परेको गुनासो गर्न थालेपछि अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतमले पूर्वाधार बनाउन रकम अभाव हुन नदिने बचन दिइन् । उनले अनुगमनस्थलबाटै गुरुयोजनासम्म पुग्ने सडक बनाउन भौतिक पूर्वाधार मन्त्रालयसँग आग्रह गरिन् । 

कजेटले अभावले पुर्वाधार विकास र सेवा रोकिदैन्,उनले भनिन्,‘आगामी बजेटले यो बहुबर्षिय गुरुयोजनालाई विशेष प्राथमिकता दिनेछ ।’ डिपिआरमा ३ वटा शैक्षिक भवन, खेल मैदान, सुविधायुक्त पुस्तकालय भवन, मेस भवन, सेमिननार हल, प्रशासनिक भवन लगायतका २३ वटा भवन चेरेमा निर्माण हुने छन ।  रजिष्ट्रार महतले भवन निर्माणका लागि अहिले नै बजेट आउने स्थित नभएको संकेत गर्दै फागुन २१ गतेपछि बन्ने सरकारले कर्णालीको आवश्यकता महसुस गर्नुपर्नेमा जोड दिए । यसमा हाम्रो निरन्तर पहल रहन्छ,महतले भने,‘गुरुयोजनाको महत्व र आवश्यकता सहितको कार्ययोजना पेस गरेर डीपीआर अनुसारको बजेट माग्छौं ।’

प्रतिष्ठानमा अहिले एमबीबीएस, एमडी,बी फार्मा,विएनएस लगायतका एक दर्जन बढी शैक्षिक कार्यक्रम चलेका छन । करिब ५ सय बढी शिक्षक,कर्मचारी कार्यरत छन् । पूर्वाधार अभावले शिक्षकहरु भाडाका घरका बस्न बाध्य छन् । देशभका विभिन्न जिल्लाबाट आएका विर्द्याथी पनि भाडाकै घरमा बसिरहेका छन् । जसले पठनपाठन प्रभावित हुने गरेको छ । कर्णालीकै गौरवको विषय बनेको प्रतिष्ठानका समस्या समधानमा दलहरुको चासो नजानु, राज्यले सधै उपेक्षा गर्नुले कर्णालीको स्वास्थ्य,शिक्षा र अनुसन्धानमा असहयोग भएको प्रष्ट देख्न सकिन्छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully