पराजित भएका कांग्रेसका राजु केसी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का जनार्दन शर्मा बाहेक अरुको जमानत जफत भएको छ ।
रुकुम पश्चिम — प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पश्चिममा उम्मेदवारी दिएका १२ जनामध्ये ९ जनाको जमानत जफत भएको छ ।
पराजित भएका कांग्रेसका राजु केसी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का जनार्दन शर्मा बाहेक अरुको जमानत जफत भएको हो ।
जमानत जफत हुनेहरुमा १८६९ मत ल्याएका एमालेका नन्दराम देवकोटा, ४०७६ मत ल्याएका रास्वपाका मानबहादुर शाही, २२८ मत ल्याएका राप्रपाका गोपाल खड्का, ३३६ मत ल्याएका नेकपा माओवादीका चन्द्रबहादुर बुढा, १७० मत ल्याएका राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, ८४ मत ल्याएका उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी, ५४ मत ल्याएका नेकपा संयुक्तका शेरबहादुर केसी, ४५ मत ल्याएकी आम जनता पार्टीकी प्रेमा दमाई नेपाली र १५ मत ल्याएका नेमकिपाका धनबहादुर विक रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी शशिराम विष्टले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ का अनुसार ‘मतदान गरिएको जम्मा सदर मतको दस प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । रुकुम पश्चिममा कुल ६२५३९ मतदान भएकोमा सदर मतको संख्या ५९५२३ रहेको छ ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको यस जिल्लामा २१६०९ मत ल्याएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का गोपाल शर्माले जित हात पारेका छन् । केसीलाई कांग्रेसका राजु केसीले १६६६१ मतका साथ पछ्याएका थिए भने प्रलोपाका जनार्दन शर्माले १४३४६ हत प्राप्त गरेर तेस्रो भएका थिए ।
उम्मेदवारी फिर्ता लिने समय घर्किसकेपछि एमालेका उम्मेदवार देवकोटा र उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले प्रलोपाका शर्मालाई समर्थन गर्ने भन्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका थिए । तर पनि उनिहरुको पक्षमा केही मत पाप्त भएको छ । र यी दुवे जनाको समेत जमानत जफत भएको छ ।
