कर्णालीमा अझै पुगेनन् ७५ मतदान केन्द्रको मतपेटिका 

मतपेटिका सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउन शुक्रबार बिहान हेलिकोप्टर प्रयोग गर्न लागिएको छ ।

फाल्गुन २२, २०८२

कृष्णप्रसाद गौतम

Ballot boxes from 75 polling stations have not yet reached Karnali

सुर्खेत — मुगु, डोल्पा र हुम्लाका ७५ मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याउन सकिएको छैन । ती मतदान केन्द्रको मतपेटिका सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउन शुक्रबार बिहान हेलिकोप्टर प्रयोग गर्न लागिएको छ । 

बिहीबार हेलिकोप्टर प्रयोग गरी हुम्लाको नाम्खा गाउॅपालिकास्थित हल्जी मतदान केन्द्रको मतपेटिका मात्र सदरमुकाम ल्याइएको छ । हुम्लामा अझै तीन मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम सिमकोट ल्याउन बाॅकी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी प्रवक्ता एसएसपी रामप्रकाश शाहका अनुसार डोल्पाको २३ मतदान केन्द्रको मतपेटिका पनि हेलिकोप्टरबाट ल्याइनेछ । 

बिहीबार डोल्पामा लेक लागेका निर्वाचन कर्मचारीलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको थियो । ‘हेलिकोप्टरलाई भ्याइनभ्याइ भयो, हावा चलेकाले पनि केही ठाउॅमा हिजो हेलिकोप्टर जान सकेन,’ उनले भने, ‘शुक्रबार बिहानैबाट संकलन हुन नसकेका मतपेटिका सदरमुकाम ल्याइनेछ ।’

मुगुमा ४० मतदान केन्द्रको मतपेटिका पुगिसकेको छ भने २७ स्थानको बाॅकी छ । त्यस्तै डोल्पा ३८ स्थानको मतपेटिका दुनै पुगेको छ भने ३० ठाउॅको आउन बाॅकी छ । त्यस्तै हुम्लामा ४२ मतदानस्थलको आयो १८ बाकी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

कर्णालीमा ५२.९ प्रतिशत मतदान भएको छ । प्रदेशभरि १० लाख ४८ हजार १ सय ३८ मतदातामध्ये ५ लाख ५४ हजार ३ सय ४१ जनाले मतदान गरेका थिए । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा ९ सय ४१ मतदानस्थल कायम गरिएको थियो । 

प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालीकोट र जुम्लाको सबै मतदान केन्द्रको मतपेटिका मतगणना स्थलमा पुगिसकेको छ । कालीकोटमा मत गणना सुरु भइसकेको छ भने अरु जिल्लामा तयारी थालिएको छ ।  

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully