हुम्लामा ६५.३६ प्रतिशत मतदान

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका ६० मतदानस्थलका ६४ मतदान केन्द्रबाट मतदान प्रक्रिया सम्पन्न भएको हो । कुल ३४ हजार ३ सय ७२ मतदाता रहेको हुम्लामा २२ हजार ४ सय ६७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

65.36 percent voter turnout in Humla

हुम्ला — हिमाली जिल्ला हुम्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६५.३६ प्रतिशत मतदान भएको छ । भौगोलिक विकटता, चिसो मौसम तथा हिमाली कठिनाइका बाबजुद मतदाताले उत्साहजनक रूपमा मतदानमा सहभागिता जनाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका ६० मतदानस्थलका ६४ मतदान केन्द्रबाट मतदान प्रक्रिया सम्पन्न भएको हो । कुल ३४ हजार ३ सय ७२ मतदाता रहेको हुम्लामा २२ हजार ४ सय ६७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार मतदान गर्नेमध्ये ११ हजार ४ सय ९ पुरुष र ११ हजार ५८ महिला मतदाता रहेका छन् । हुम्लाका दुर्गम गाउँ–बस्तीका मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा पुगेर लामबद्ध रूपमा मतदान गरेका थिए । हिमपातका कारण केही स्थानमा आवतजावतमा कठिनाइ भए पनि अधिकांश केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रशासनले जनाएको छ ।

निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायले कडा व्यवस्था मिलाएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा घेराबीच मतदान सम्पन्न भएको हो ।

मतदान सकिएपछि सुनखानी प्रावि हल्जी मतदान केन्द्रबाहेक ६३ केन्द्रबाट मतपेटिका नपुगेकाले सबै मतपेटिका पुगेपछि मात्र मतगणना प्रक्रिया सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हिमाली जिल्लाको चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच पनि मतदाताले देखाएको उत्साहजनक सहभागिताले लोकतान्त्रिक प्रक्रियाप्रति जनताको विश्वास अझ मजबुत रहेको स्थानीय सरोकारवालाहरूले बताएका छन् ।

कान्तिपुर

Link copied successfully