श्वासप्रश्वास र नाकबाट रगत बग्ने समस्या
डोल्पा — उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–६ मा पर्ने फोत गाउँस्थित वडा कार्यालयमा तोकिएको मतदान केन्द्रमा खटिएका दुई जना कर्मचारीलाई हेलिकप्टरबाट उद्धार गरिएको छ।
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन गएका सहायक कर्मचारी गोर्खबहादुर थापा र निर्वाचन प्रहरी कृष्ण झाक्रीलाई हेलिकप्टरबाट उद्धार गरेर सदरमुकाम ल्याइएको निर्वाचन अधिकृत बिदुर कोइरालाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी टोपेन्द्र बुढामगरका अनुसार निर्वाचनमा खटिएका दुई जना कर्मचारी र तीन जना निर्वाचन प्रहरी गरी पाँच जना बिरामी परेका हुन्।
तीन जनाको अवस्था सामान्य भएकाले दुई जनालाई मात्र उद्धार गरी दुनै ल्याइएको बुढामगरले बताए। उद्धार गरेर ल्याइएका दुवै जनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ।
हेलिकप्टरबाट मतदान केन्द्रमा पुगेका कर्मचारीमध्ये एक जना कर्मचारी र एक जना निर्वाचन प्रहरीलाई श्वासप्रश्वासमा समस्या आएको र बाँकीको नाकबाट रगत बग्ने समस्या देखिएको थियो।
