जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले सबै मतदान केन्द्रमा कर्मचारी पुगेर निर्वाचनको काम सुरु भइसकेको बताए ।
What you should know
जुम्ला — जिल्लाका सबै मतदान केन्द्रसम्म पुग्न सडक पुगेकाले मतदाता सामग्रीसहित कर्मचारी पुग्न सजिलो भएको छ । जिल्लाको कनकासुन्दरी–१ स्थित रिया र तिला–९ स्थित खडढुस्का मतदान केन्द्रमा मात्रै सडक पुगेको छैन ।
गत निर्वाचनसम्म जिल्लाका अधिकांश मतदान केन्द्रमा पैदलै पुग्नुपर्ने अवस्था थियो तर यो निर्वाचनमा सबै निर्वाचन केन्द्रमा गाडी पुर्याइएको हो । सहजै रूपमा मतदान केन्द्रसम्म सवारीसाधनको प्रयोग भएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।
‘पहिले निर्वाचनमा खटिने कर्मचारीहरू सास्ती पाइरहेका थिए । अहिले केन्द्रसम्मै गाडीले पुर्याउँदा सहज छ,’ उनले भने, ‘मतदान केन्द्रको सुरक्षा प्रदान गर्न र मतपेटी ल्याउन र लैजानसमेत सजिलो भएको छ ।’ जुम्लाका १ सय १० मतदान केन्द्रमै सोमबार साँझसम्म कर्मचारी पुगिसकेका छन् । उनीहरूले निर्वाचन केन्द्र व्यवस्थापन र मतदाता व्यवस्थापनको काम सुरु गरिसकेका छन् ।
जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले सबै मतदान केन्द्रमा कर्मचारी पुगेर निर्वाचनको काम सुरु भइसकेको बताए । ‘अहिलेसम्म सबै मतदान केन्द्रमा कर्मचारी सहजै रूपमा पुगिरहेको खबर प्राप्त भएको छ,’ उनले भने, ‘सबै मतदान केन्द्रमा निर्वाचन गराउनका लागि व्यवस्थापकीय कार्य सुरु भइसकेको छ ।’
यो निर्वाचनका लागि ६ सय ५४ कर्मचारी खटिएका छन् । जिल्ला निर्वाचन अधिकारी कँडेलले पहिले कर्मचारीहरू निर्वाचन गराउन हिँडेर जाने भए पनि यो पटक भने सवारीसाधन लिएर हरेक मतदान केन्द्रमा कर्मचारीहरू पुर्याइएको जानकारी दिए ।
मतदान केन्द्रमा मतदान सामग्री र कर्मचारी पुर्याउन सरकारी र भाडाका गाडी प्रयोग गरिएका छन् । सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा रहेको अशोक आधारभूत विद्यालयमा १ हजार ७३ मतदाता छन् । सबैभन्दा कम जिल्ला कारागार जुम्लामा रहेको अस्थायी मतदान केन्द्रमा १९ जना मतदाता छन् । जुम्लामा ७१ हजार ७ सय ३९ मतदाता छन् ।
प्रमुख जिल्ला अधिकारी पौडेलले हरेक मतदान केन्द्रमा सुरक्षा व्यवस्थापनको खाका तयार पारेर लागू भइसकेको बताए । उनले भने, ‘मतदान केन्द्रमा सुरक्षा निकायको संयुक्त गस्ती सुरु भइसकेको छ ।’ उनका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत र मतदान सामग्रीसमेत मतदान केन्द्रमा पुगिसकेको छ । मतदान केन्द्रका कर्मचारीहरूसँगै सुरक्षाकर्मीहरू पनि खटिएका छन् । मतदान केन्द्रको व्यवस्थापन सोमबारदेखि नै भइसकेको छ । ‘जिल्ला सुरक्षा समितिका तर्फबाट पर्याप्त सुरक्षा व्यवस्थापन गरिएको छ,’ उनले भने ।
जुम्लामा भौगोलिक विकटता, सञ्चारको असुविधा, सडक सञ्जालको कमजोरी लगायतका हिसाबले ५२ वटा मतदान केन्द्र अतिसंवेदनशील छन् । २५ वटा संवेदनशील र २१ वटा मतदान केन्द्र सामान्य रहेका छन् ।
