वारिसे मतदानमा कडाइ गरिने, अशक्त र अपांगता भएकालाई अशक्तताको परिचय–पत्र हेरिने ।
What you should know
कालिकोट — यहाँको मान्मस्थित महादेव आधारभूत विद्यालय मतदान केन्द्रमा आगामी फागुन २१ मा हुने निर्वाचनको तयारी बैठक सम्पन्न भएको छ । मतदान अधिकृत रामदत्त देवकोटाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले मतदाताको अधिकारको सम्मान गर्न वारेसमा गरिने मतदानलाई निरुत्साहित गर्ने निर्णय गरेको छ ।
अपांगता भएका व्यक्तिको पनि अपांगताको परिचय–पत्र हेरेर अशक्त भए मात्र वारेसमा भोट हाल्न दिने निर्णय गरेको छ । निर्वाचन आयोगले जारी गरेको परिपत्रअनुसार फर्जी मतदानलाई नियन्त्रण गर्न सर्वदलीय बैठकमा सुझाव लिएर सर्वसम्मत निर्णय गरिएको मतदान अधिकृत देवकोटाले बताए ।
बैठकमा कांग्रेस, एमाले, नेकपा, रास्वपा, नेकपा माओवादी, राप्रपालगायत दलका प्रतिनिधि सहभागी थिए । बैठकले मतदानलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने जनाउँदै विगतका निर्वाचनमा आफैं मतदान गर्न सक्ने मतदाताको पनि वारेसमा अर्कै व्यक्तिले मतदान गर्ने चलनको अन्त्य गर्ने निर्णय गरिएको कांग्रेस प्रतिनिधि प्रेमबहादुर शाहीले बताए ।
त्यस्तै, जिल्लाका सबै मतदान केन्द्रमा मंगलबार सर्वदलीय बैठक सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी सुनिल खाडले जानकारी दिए । उनका अनुसार जिल्लाका १ सय २८ वटै मतदान केन्द्रमा निर्वाचन टोली पुगेर सर्वदलीय बैठक गरेर बुधबारसम्म मतदान स्थल निर्माण गरिसक्ने तयारी छ ।
मतदान केन्द्रको सरक्षाका लागि कालीकोटमा २ सय ९८ महिलासहित १ हजार २ सय ९८, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नोपली सेना गरी २ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए । उनका अनुसार निर्वाचनका दिन बिरामी तथा कुनै घटनामा घाइते भएमा जिल्लाका मुख्य बजार केन्द्रमा ६ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयमा चालक भीमबहादुर खड्का, मान्म बजारमा धीरज शाही, मान्मस्थित पुरानो बसपार्कमा दुर्गेश पाण्डे, सेरावाडामा मनराज सिंह, सान्नीत्रिवेणीमा नर्भु केसी, तिलागुफामा हर्षबहादुर शाहीलाई एम्बुसेन्स चालकका रूपमा तयारी अवस्थामा राखिएको छ ।
यसैबीच, बुधबार मान्ममा निर्वाचन प्रहरी र मतदाता शिक्षा खटिने अनुगमनकर्ताका लागि नमुना मतदान अभ्यास गरिएको जिल्ला निर्वाचन अधिकृत विश्व मंगल शर्माले बताए । नमुना मतदानमा मतदाताको सुरक्षा, मत दिने ठाउँको गोपनीयता, मतपेटिकाको सुरक्षा, मतपत्र दिने ठाउँ र मतदान गर्ने तरिकाबारे जानकारी गराइएको उनले सुनाए ।
कालीकोटका ७ वटा स्थानीय तहका केन्द्रसम्म गाडी चल्ने भए पनि महाबै र पलातामा सिधा गाडीको पहुँच नभएका ठाउँमा भरियाबाट बोकाएर निर्वाचन सामग्री पुर्याउने तयारी गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनकै रातीसम्म सबै मतदान केन्द्रबाट मतपेटिका मान्म पुर्याउन आवश्यक सुरक्षा रणनीति बनाएको जिल्ला प्रहरी प्रमुख हिमबहादुर केसीले बताए ।
