जुम्ला पुगेर फर्कियो कर्णाली प्रदेश सुरक्षा प्रमुखहरूको टोली

सुरक्षा प्रमुखहरूले जुम्लाको भौगोलिक अवस्था, मतदान केन्द्र र मतदान स्थलको अवस्थाका बारेमा मात्रै जानकारी दिएनन्, निर्वाचनको समग्र सुरक्षामा चनाखो बन्नसमेत निर्देशन दिएका थिए ।

फाल्गुन १७, २०८२

डीबी बुढा

Karnali Province security chiefs return after reaching Jumla

What you should know

जुम्ला — कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवसहितको प्रदेश सुरक्षा प्रमुखहरूको टोली जुम्ला पुगेर फर्किएको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा अवस्था बुझ्न जुम्ला पुगेको टोली आइतबार सुर्खेत फर्किएको हो । 

टोलीले जुम्लामा निर्वाचन तयारी, मतदान केन्द्रहरूको सुरक्षा अवस्था, मतदाता शिक्षादेखि मतपेटिका सुरक्षा लगायतका विषयमा जानकारी लिएको हो । ‘नेपाली सेनाको स्काई ट्रक जहाजमार्फत जुम्ला पुगेको सुरक्षा प्रमुखहरूको टोलीले समग्र निर्वाचन सुरक्षाका विषयमा जानकारी लियो,’ जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले भने, ‘हामीले जिल्लाको सुरक्षा संवेदनशीलता र निर्वाचनको तयारीका बारेमा ब्रिफिङ गर्‍यौं ।’ 

नेपाली सेनाका तर्फबाट २४ नम्बर बाहिनीले सुरक्षा अवस्थाबारेमा जानकारी दिएको थियो । समग्र जिल्लाको सुरक्षाका अवस्थाका विषयमा प्रमुख जिल्ला अधिकारी पौडेलले प्रस्तुतीकरण गरेका थिए । उनका अनुसार जिल्लामा १ सय १० मतदान केन्द्र रहेकामा ५२ वटा मतदान केन्द्र अति संवेदनशील, २५ वटा मतदान केन्द्र संवेदनशील र २१ वटा मतदान केन्द्र सामान्य छन् । 

सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । विगतका निर्वाचनमा भएका क्रियाकलापका बारेमा समेत समीक्षा भएको थियो । आगामी निर्वाचन सुरक्षा सतर्कता अपनाउनसमेत प्रदेश सुरक्षा प्रमुखहरूको टोलीले निर्देशन गरेको थियो । 

सुरक्षा प्रमुखहरूले जुम्लाको भौगोलिक अवस्था, मतदान केन्द्र र मतदान स्थलको अवस्थाका बारेमा मात्रै जानकारी दिएनन्, निर्वाचनको समग्र सुरक्षामा चनाखो बन्नसमेत निर्देशन दिएका थिए । 

टोलीमा प्रदेशका प्रमुख सचिव लगायत नेपाली सेनाका उत्तर पश्चिम पृतनापति दीपेशजंग शाह, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, सशस्त्र प्रहरी बलका प्रदेश निमित्त बाहिनीपति विनोदराज श्रेष्ठ लगायत थिए । 

टोलीले जिल्लाका सुरक्षा प्रमुखहरू र जिल्ला निर्वाचन कार्यालयका प्रमुखसँग छलफल गरेको थियो ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully