डाेल्पामा स्थायी र अस्थायी गरेर ७० मतदान केन्द्र छन् भने ३ सय ८३ जना कर्मचारी खटाइएको छ ।
What you should know
डोल्पा — उपल्लो डोल्पाका २३ मध्ये १२ मतदान केन्द्रमा अझै कर्मचारी र निर्वाचन सामग्री पुर्याउन सकिएको छैन ।शनिबार एउटा र आइतबार दुईवटा हेलिकप्टर प्रयोग गरेर पनि निर्वाचन सामग्री पुर्याउन नसकिएको हो ।
प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार उपल्लो डोल्पाका लागि शनिबार एउटा र आइतबार १० वटा गरेर जम्मा ११ वटा उडान गरिएको छ ।
‘डोल्पोबुद्ध गाउँपालिकाकाका ६ वटै मतदान केन्द्रमा आवश्यक सामग्रीसहित कर्मचारी पठाइसकिएको छ । शे–फोक्सुण्डो गाउँपालिकाको फु गाउँ, फोत गाउँ, भिजेर, निजाल आज पठाइयो । शे–फोक्सुण्डो गाउँपालिकामा केही मतदान केन्द्र र छार्काताङ्सोङ् गाउँपालिकाका ६ वटै मतदान केन्द्रमा पठाउन सकिएन,’ हमालले भनिन्, ‘दुईवटा पालिकाका १२ वटा मतदान केन्द्रमा अझै निर्वाचन सामग्री र कर्मचारी पठाउन बाँकी रहेको हो । सकभर बाँकीमा सोमबार र नभए मंगलबारभित्र सक्ने योजना छ ।’
एकाबिहानैदेखि उडान गरे पनि डोल्पामा दुई बजेपछि तीव्र बेगमा हावा लाग्न सुरु हुने भएकाले आइतबार सबै उडान गर्न नसकिएको उनको भनाइ छ ।
हेलिकप्टरले पुर्याउन सम्भव नभएमा शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने तल्लो भेगका मतदान केन्द्रमा हिँडाएर पठाउने योजना रहेको प्रजिअ हमालले बताइन् ।
उपल्लो डोल्पामा निर्वाचन सामग्री र कर्मचारी लैजानका लागि डोल्पामा रहेका दुईवटा हेलिकप्टरमध्ये एउटा हेलिकप्टर फर्किसकेको बताइएको छ ।
तल्लो डाेल्पामा पर्ने ६ वटा पालिकामा पर्ने मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पठाउने क्रम जारी रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
डाेल्पामा स्थायी र अस्थायी गरेर ७० मतदान केन्द्र छन् भने ३ सय ८३ जना कर्मचारी खटाइएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको डोल्पामा कुल २४ हजार १ सय १५ मतदाता रहेका छन् । जसमा महिला १२ हजार १ सय ८७ र पुरुष ११ हजार ९ सय २८ छन्।
आसन्न फागुन २१ को निर्वाचनका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
डाेल्पामा नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर बुढा,नेकपा एमालेबाट लंकबहादुर रोकाय,नेपाली कांग्रेसबाट कर्णबहादुर बुढा,राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवसिंह ऐडी,स्वतन्त्रबाट ओमेन्द्रबहादुर केसी चुनावमा होमिएका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बुढाले एमालेलाई सघाउने गरी तालमेल गरिसकेका छन् । त्यसैगरी उज्याले नेपाल पार्टीका उम्मेदवार दिलबहादुर विष्ट र मितेरी नेपाल पार्टीका उम्मेदवार जुनु भण्डारी यसअघि नै कांग्रेस प्रवेश गरिसकेका छन् ।
