रुकुम पश्चिममा दलबीच झडपको जोखिम पनि सुरक्षा चुनौती

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा निर्वाचन सुरक्षाकर्मीबीच समन्वयात्मक रूपमा सुरक्षा योजना कार्यान्वयन भइरहेको सुरक्षा समितिले जनाएको छ ।

फाल्गुन १४, २०८२

महेश केसी

Risk of clashes between parties in Rukum West also poses a security challenge

What you should know

रुकुम पश्चिम — आगामी निर्वाचनलाई लक्षित गर्दै रुकुम पश्चिमका २१ निर्वाचन स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ भने राजनीतिक दल तथा तिनका समर्थकबीच विवाद र सम्भावित झडप हुन सक्ने अवस्थालाई सुरक्षा निकायले प्रमुख चुनौतीका रूपमा लिएको जनाएको छ । 

जिल्लामा दुई अस्थायीसहित ७८ निर्वाचन स्थल छन् । जहाँ १ सय ४२ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार बाँकी ४३ स्थल संवेदनशील तथा दुई अस्थायीसहित १४ स्थललाई सामान्य निर्वाचन स्थलका रूपमा राखेको छ । 

‘दूरी, विकटता र विगतमा घटनालाई मध्यनजर गरेर जिल्लाका यी क्षेत्रलाई वर्गीकरण गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी बेदबहादुर पौडेलले भने, ‘नयाँ राजनीतिक घटनाका कारण राजनीतिक दलभित्रको आन्तरिक संघर्षलाई पनि सुरक्षा निकायको चुनौती भएको छ । ’

उनका अनुसार चुनावी कार्यक्रम एकै स्थान र समयमा जुध्न नदिन पूर्वजानकारी गराएर मात्र कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सुरक्षा समितिमार्फत मतदान स्थलको स्थलगत अनुगमन, आवश्यक सुधार तथा संवेदनशील क्षेत्रहरूमा निगरानीसमेत तीव्र पारिएको छ । 

जिल्लामा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । विशेषतः पूर्वसांसद जनार्दन शर्माले पुरानो दल छाडेर नयाँ पार्टीबाट उम्मेदवारी दिएपछि केही क्षेत्रमा दलहरूबीच प्रतिस्पर्धा तीव्र बनेको छ । यसले नेकपा र प्रलोपा समर्थकबीच तनाव बढ्न सक्ने आकलन गर्दै सुरक्षा निकाय सतर्क रहेको छ । यद्यपि, जिल्लामा अहिलेसम्म कुनै घटना भने नभएको डीएसपी पौडेलले बताए । 

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा निर्वाचन सुरक्षाकर्मीबीच समन्वयात्मक रूपमा सुरक्षा योजना कार्यान्वयन भइरहेको सुरक्षा समितिले जनाएको छ । जिल्लाको आठविसकोट नगरपालिकाको माथिल्लो भेग स्यालाखदी र गोतामकोट क्षेत्रमा भौगोलिक विकटता र यातायात पहुँचले पनि सुरक्षा व्यवस्थापनमा थप चुनौती थपिएको छ । यो क्षेत्र जिल्लको हिउा पर्ने क्षेत्र पनि हो । जिल्लामा ५२ हजार हजार ३ सय ९६ महिला, एक अन्य सहित १ लाख ६ हजार ६ सय ६० जना मतदाता रहेका छन् ।

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully