निर्वाचन तयारीका लागि नमुना मतदान

निर्वाचनमा अपनाउनुपर्ने सतर्कता र पूर्व तयारीबारे जानकारी गराउने उद्देश्यले बुधबार जिल्ला समन्वय समिति अगाडि खुला मैदानमा नमुना मतदान अभ्यास गरिएको हो ।

फाल्गुन १४, २०८२

तुलाराम पाण्डे

Model voting for election preparation

कालिकोट — आगामी फागुन २१ गते हुने चुनावको तयारी स्वरुप निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि सदरमुकाम मान्ममा नमुना मतदान अभ्यास गरिएको छ ।

निर्वाचनमा अपनाउनुपर्ने सतर्कता र पूर्व तयारीबारे जानकारी गराउने उद्देश्यले बुधबार जिल्ला समन्वय समिति अगाडि खुला मैदानमा नमुना मतदान अभ्यास गरिएको हो ।

निर्वाचनमा खटिने १२७ मतदान अधिकृत र १२७ सहायक मतदान अधिकृत गरी २५४ जनालाई तालीम पश्चात् नमुना मतदान अभ्यास गरिएको मुख्य निर्वाचन अधिकृत कुल प्रसाद दाहालले बताए । ‘नमुना मतदानले नयाँ मतदान अधिकृतलाई निकै सहज बनाएको छ,’ उनले भने, ‘निर्वाचन पूर्व गर्नुपर्ने तयारी, निर्वाचनको समयमा अपनाउनुपर्ने सतर्कता र चुनाव सकिएपछि मतपेटिका शील गर्ने तरिका प्रदर्शन भयो ।’

Model voting for election preparation

निर्वाचनको बेला मतदान अधिकृतले परिचालन गर्ने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवकको परिचालन र मतपेटिका र मतपत्रको सुरक्षा लगायतका विषयमा नमुना मतदान मार्फत निर्वाचन टोलीलाई स्पष्ट पारिएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए ।

Model voting for election preparation

कालिकोटमा सबै गरी २ हजार सुरक्षाकर्मी र ७ सय कर्मचारी निर्वाचनमा खटाइएको जिल्ला निर्वाचन अधिकारी विश्व मंगल शर्माले जानकारी दिए ।

Model voting for election preparation

नमुना मतदानबाट निर्वाचनको दिन गर्नुपर्ने पूर्व तयारी र अपनाउनुपर्ने सजकता बारे व्यवहारिक रूपमा बुझ्न पाइएको पहिलो पटक मतदान अधिकारी बनेका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हर्षप्रसाद चौलागाईंले बताए । 

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully