दोस्रो चरणमा तल्लो डोल्पामा पर्ने काइके, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पठाइने र अन्तिममा ठुलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकामा पठाउने तयारी गरिएको छ ।
What you should know
डोल्पा — हिमाली जिल्ला डोल्पामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । आसन्न २१ फागुनमा तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।
कुन मतदान केन्द्रमा कति मतपत्र पठाउने भनेर छुट्याइसकिएको छ । मतपेटिका लगायतका अन्य सामग्रीहरू पनि तयारी अवस्थामा छन् । कर्मचारी र निर्वाचन सामग्री पठाउने बाहेक अन्य तयारी पूरा भइसकेको जिल्ला अदालत डोल्पाका सूचना अधिकारी विदुर कोइरालाले भने ।
'कर्मचारी खटनपटन पनि यसअघि नै सम्पन्न भइसकेको छ । अब आगामी १४ गते मतदान केन्द्रमा खटिने निर्वाचन अधिकृतहरूलाई नियुक्तिपत्र दिएर सँगै मतपत्र लगायतका सामग्रीहरू पठाउनेछौँ, ' उनले थपे ।
उनका अनुसार पहिलो चरणमा उपल्लो डोल्पामा पर्ने शे–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा हेलिकप्टरबाट कर्मचारी, मतपत्र लगायतका सामग्रीहरू पठाइनेछ ।
दोस्रो चरणमा तल्लो डोल्पामा पर्ने काइके, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पठाइने र अन्तिममा ठुलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकामा पठाउने तयारी गरिएको छ ।
तल्लो क्षेत्रमा भने गाडीमै निर्वाचन सामग्री तथा कर्मचारी पठाउने तयारी गरिएको बताइएको छ ।
डोल्पामा रहेका ६८ स्थायी र दुई अस्थायी गरेर कुल ७० वटा मतदान केन्द्र रहेका छन् भने तीन सय ८३ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको डोल्पामा कुल २४ हजार १ सय १५ मतदाता रहेका छन् । जसमा महिला १२ हजार १ सय ८७ र पुरुष मतदाता ११ हजार ९ सय २८ रहेका छन् ।
डोल्पामा सात जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
