भेरीमा बेपत्ता महिलाको शव भेटियो

भेरी नदीमा बेपत्ता दाङको तुलसीपुर उपमहानगरपालिका–६ बरुवाकी २१ वर्षीया पुष्पा सिंहको शव घटनास्थलदेखि २० किलोमिटर तल सुर्खेतको पोखरेनजिकै बिहीबार फेला परेको हो ।

फाल्गुन १४, २०८२

विप्लव महर्जन

Body of missing woman found in Bheri

सल्यान — सल्लीबजार नजिकै पर्ने भेरी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी दाङको तुलसीपुर उपमहानगरपालिका–६ बरुवाकी २१ वर्षीया पुष्पा सिंहको शव  फेला परेको छ । बेपत्ता भएको सातौं दिनमा बिहीबार उनको शव भेटिएको हो ।

घटनास्थलदेखि २० किलोमिटर तल पर्ने सुर्खेतको पोखरेनजिकै उनको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक डा. हेमबहादुर केसीका अनुसार भेरीमा एक स्थानीयले माछा मार्ने क्रममा जालमा अल्झिएपछि तान्ने क्रममा पुष्पाको शव भेटिएको हो । पुष्पाको शव अहिले पोस्टमार्टमका लागि सुर्खेत अस्पताल  लगिएको उनले जानकारी गराए । 

उनका अनुसार विवाह भएको तीन सातापछि श्रीमानसँगै माइतीघर बन्गाड कुपिण्डे नगरपालिका–६ सुनौली आएकी उनी सल्लीबजार नजिकै फोटो खिच्दै गर्दा पुलबाट गत शुक्रबार भेरी नदीमा हाम फालेकी थिइन् । पुलमाथि फोटो खिच्ने बेला उनका श्रीमान् पनि साथमै थिए । बेपत्ता भएकी पुष्पाको दुई दिनसम्म सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरेको थियो ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully