सुरुवाती चरणमा काम हुन नसकेपछि चौतर्फी दबाब बढेको र सम्बन्धित निकायले ताकेता गरेपछि निर्माणको कामले गति लिएको हो ।
What you should know
सल्यान — राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्डको राम्री–हर्नेटी र खारखोला–सम्दीमोड सडक निर्माण कार्यले गति लिएको छ ।
सुरुवाती चरणमा काम हुन नसकेपछि चौतर्फी दबाब बढेको र सम्बन्धित निकायले ताकेता गरेपछि निर्माणको कामले गति लिएको हो ।
विगतमा गरेका कालोपत्र सबै उप्किँदा जीर्ण बन्दै गएको सडक हिउँदमा धुलाम्मे हुने र बर्षातको समयमा सधैं पहिरो जाँदा यात्रुले सास्ती भोग्दै आएका थिए । जसका कारण दुर्घटनाको जोखिम बढ्दै गएपछि राम्री–हर्नेटी र खारेखोला–सम्दीमोडसम्मको झन्डै ११ किलोमिटर सडक स्तरबृद्धि तथा कालोपत्र गर्न गत वर्ष संघीय सरकारले ६० करोड विनियोजन गरेको थियो । सडक डिभिजन कार्यालय दाङले गरेको ठेक्का अनुसार पिके निर्माण सेवाले ४० करोडमा दुई वर्षमा काम सम्पन्न गर्ने जिम्मेवारी पाएको थियो ।
निर्माण कम्पनीले अहिले पहाड कटिङको काम करिब सम्पन्न गर्नुका लाथै पर्खाल निर्माण, नालाको काम २० प्रतिशत बढी सम्पन्न गरिसकेको छ ।
राप्ती राजमार्ग अन्तर्गत उक्त सडक खण्डमा दैनिक ३ सय बढी सना ठूला गाडी गुड्ने गरेका छन् । यात्रुको सुरक्षालाई बेवास्ता गर्दा सडकमा थुपारेको निर्माण सामग्री र धुँलोका कारण यात्रुलाई भने सास्ती भएको छ ।
सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी ईन्जिनियर अशोक चौधरीले पिके निर्माण सेवाले सुरुवाती चरणमा केही ढिला गरे पनि पछिल्लो समयमा निर्माणको काम तीब्र रुपमा गरेको बताए । गत जेठदेखि सुरु भएको योजनामा निर्माण कम्पनीले २० प्रतिशत भन्दा बढी काम सम्पन्न गरिसकेको जानकारी गराए । उनका अनुसार निर्माण कम्पनीले सडक चौडा बनाउन पहाड कटिङको काम ९० प्रतिशत र नाला, पर्खालको काम ८० प्रतिशत सम्पन्न गरिसकेको छ ।
‘राप्ती राजमार्गमा गाडी चाप अत्यधिक बढ्दै गएपछि निर्माणको काम गर्न निर्माण कम्पनीलाई सुरुवातमा केही गाह्रो भएको थियो । पछि सम्बन्धित निकायको अनुमति लिएर दैनिक ५ देखि ६ घन्टा एक महिनासम्म गाडी संचालनमा रोक लगाएपछि निर्माणको कामले तिब्रता लिएको हो,’ उनले भने ।
पहाड कटिङ गर्दा खसेको ढुंगामाटोको व्यवस्थापनमा कठिनाई भएको र सडकमा थुपारेको निर्माण सामग्रीले यात्रु तथा गाडी व्यवसायीलाई केही असहज भएको र जसका कारण दुर्घटनाको जोखिम बढेको उनको भनाई छ । अहिलेको कामको गति हेर्दा निर्माण कम्पनीले तोकेको समयमा काम सम्पन्न गर्ने उनले बताए।
खारखोला–सम्दीमोडमा भन्दा निर्माण कम्पनीले राम्रीदेखि हर्नेटीसम्म काम धमाधम गरिरहेको सल्यानबाट तुल्सीपुर जाँदै गरेका मोटरसाइकलमा सवार दिपेन्द्र बुढाले बताए । निर्माण कम्पनीले सडकमा पानी चार्ने तथा ढुंगामाटोलगायतका निर्माण सामग्री व्यवस्थापन गरे आउजाउमा समस्या नहुने उनको भनाई छ ।
निर्माण सामग्री सडकमै थुपारेका कारण आउजाउमा असहज भएकाले सल्यानबाट तुल्सीपुर पुग्न मोटरसाइकलमा दुई र जीपमा अढाई घन्टा समय लाग्ने गरेकोमा खारखोला–सम्दीमोड र राम्री–हर्नेटी सडक कालोपत्र सम्पन्न भए डेढ घण्टामै पुग्न सकिने शारदा नगरपालिका–८ का मदन बस्नेतले बताए । निर्माणस्थल आसपासमा खसेका ढुंगा, माटो ब्यबस्थापनमा निर्माण कम्पनीले चासो देखाउन उनले आग्रह गरेका छन् ।
निर्माण कम्पनीका ठेकेदार प्रकाश रसाईलीले राप्ती राजमार्गको काम छिटो भन्टा छिटो सम्पन्न गर्न जति सक्यो धेरै ईकुमेन्ट र मजदुर लगाएको बताएका छन् । निर्माणको काम गर्दा माथिबाट खसेका ढुंगालाई व्यवस्थापन गर्दै आएको उनले जानकारी दिए । सम्झौता अनुसार २०८४ जेठमा काम सम्पन्न गर्ने रहेकोमा तोकेको समयमा काम सम्पन्न गर्ने ठेकेदार रसाईलीको भनाई छ ।
