हिमा गाउँपालिका–५ बुअ गाउँमा पुगेका एमाले उम्मेदवार शान्तिलाल महतले कांग्रेस उम्मेदवार दीपबहादुर शाहीलाई फोन गरेर आफ्नो पक्षमा भोट मागिदिन आग्रह गरेका हुन् ।
जुम्ला — निर्वाचनमा उम्मेदवारहरूबीच एकआपसमा प्रतिस्पर्धा हुने भएकाले कतिपय स्थानमा बोलचालसमेत हुँदैन । उनीहरूले एकअर्कालाई प्रतिस्पर्धी ठान्ने भएकाले संवाद गर्ने अवस्थासमेत रहँदैन । तर जुम्लामा फरक दृश्य देखिएको छ ।
नेकपा एमालेका प्रत्यक्षतर्फका उम्मेदवार शान्तिलाल महतले नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीलाई टेलिफोन गरेर भोट मागेका छन् । उनीहरूको यो अभ्यासले जिल्लामा सकारात्मक सन्देश फैलिएको स्थानीयले बताए ।
हिमा गाउँपालिका–५ बुअ गाउँमा पुगेका एमाले उम्मेदवार महतले कांग्रेस उम्मेदवार शाहीलाई फोन गरेर आफ्नो पक्षमा भोट मागिदिन आग्रह गरेका हुन् । उनले फोन संवादमा भने, ‘म तपाईंको गाउँमा आइपुगेको छु । भोट माग्न । तपाईंले भोट मागिदिनुपर्यो ।’
शाहीले जवाफमा नेकपाका उम्मेदवार नरेश भण्डारी एकपटक संविधानसभा सदस्य र प्रदेशसभा सदस्य चुनिएर मन्त्रीसमेत भइसकेको र ज्ञानबहादुर शाही सांसद भइसकेकाले यो पटकको नतिजा आफूहरूको पक्षमा पार्नुपर्ने सुझाव दिए । उनले भने, ‘जुम्लाले सांसद दोहोर्याउँदैन । त्यही भएर मतदातासँग राम्रोसँग मत माग्नुहोला ।’
शान्तिलाललाई दीपबहादुरले दाजु भनेर संवोधन गर्दै भने, ‘स्वागत छ ।’ शान्तिलालले थपे, ‘घरमा जाउँ भनेको कोही रहेनछन् । तपाईंमार्फत एक एक मत मागे है ।’ दीपबहादुरले हस् भनेपछि फोन संवाद टुंगिएको थियो ।
शान्तिलालले फोन गरेर उम्मेदवारसँगै भोट मागेपछि उनीसँगै प्रचारप्रसारमा गएका नेता-कार्यकर्ता उत्साहित बनेका छन् । उनीहरूबीचको यो संवादले निर्वाचनमा हुने हरेक प्रतिस्पर्धा उम्मेदवारबीचको सकारात्मक सोच र आपसी समझदारीसहित अघि बढ्नुपर्ने सन्देश दिएको स्थानीयले बताए ।
