प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा १ हजार ८४० निर्वाचन प्रहरी भर्ना भएका थिए ।
वीरेन्द्रनगर — सुर्खेतका निर्वाचन क्षेत्रमा निर्वाचन प्रहरीहरु खटिएका छन् । यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिएका निर्वाचन प्रहरीलाई मतदान केन्द्र र मतदानस्थलमा खटाइएको हो ।
१ हजार ६२८ निर्वाचन प्रहरीलाई निर्वाचन क्षेत्रमा खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा १ हजार ८४० निर्वाचन प्रहरी भर्ना भएका थिए ।
दुई निर्वाचन क्षेत्रअन्तर्गतका ३५ बढी प्रहरी युनिट मातहत रहने गरी निर्वाचन प्रहरीलाई खटाइएको छ । बुढथापाका अनुसार निर्वाचन प्रहरीले निर्वाचन पूर्वका आवश्यक तयारीमा सघाउनुका साथै मतदानका दिन पहिलो सुरक्षा घेरामा खटिने छन् ।
निर्वाचन सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, निर्वाचन अधिकृत, कर्मचारीहरू आवश्यक सामग्रीसहित १८ फागुनमा सम्बन्धित मतदान केन्द्रमा पुग्ने उनको भनाइ छ ।
उनका अनुसार दुवै निर्वाचन क्षेत्रमा ९०० बढी प्रहरी जनशक्ति खटाइनेछ भने आवश्यकताअनुसार सशस्त्र प्रहरी र नेपाली सेनालाई खटाइने छ ।
जिल्लाका दुई निर्वाचन क्षेत्रमा १४० मतदानस्थलमा ३०२ मतदानकेन्द्र छन् । क्षेत्र नम्बर १ मा ७२ मतदानस्थल र १४८ मतदानकेन्द्र छन् भने क्षेत्र नम्बर २ मा ६८ मतदानकेन्द्र र १५४ मतदानस्थल छन् ।
आगामी निर्वाचनमा दुई पदका लागि सुर्खेत– १ बाट १३ र सुर्खेत– २ बाट १७ गरी ३० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
