कर्णाली स्वास्थ्य प्रतिष्ठान सरकारको प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री गौतम

स्वास्थ्यमन्त्री सुधा गाैतमले खलंगादेखि ६ किलोमिटर टाढा बन्न लागेको प्रतिष्ठानको बहुबर्षीय शैक्षिक भवनको समेत अनुगमन गरेकी छन् ।

माघ २७, २०८२

डीबी बुढा

Karnali Health Institute is a priority for the government: Health Minister Gautam

जुम्ला — स्वास्थ्यमन्त्री सुधा शर्मा गौतमले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् । उनले आगामी बजेटमा समेत प्राथमिकता पर्नेगरी पहल भइरहेको बताएकी छन् ।

मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको निरीक्षण गर्ने क्रममा मन्त्री गौतमले प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न सधैं तत्पर रहेको बताइन् ।

उनले सदरमुकाम खलंगादेखि ६ किलोमिटर टाढा बन्न लागेको प्रतिष्ठानको बहुबर्षीय शैक्षिक भवनको समेत अनुगमन गरिन् । उनले निर्माणाधीन भवनलाई अधुरो छोड्न नहुने र काठमाडौं फर्किएपछि बैंक र कर्पोरेट हाउसहरूलाई बोलाएर लगानीको वातावरण बनाउने बताइन् । उनले भनिन्, ‘सरकारले लगानी त गर्छ नै । अतिरिक्त सहयोग जुटाएर भए पनि भवन निर्माण सकाउनु पर्ने बाध्यता छ ।’ 

स्वास्थ्यमन्त्री गौतमले शैक्षिक भवन निर्माणस्थल चेरे चौरबाटै भौतिक पुर्वाधार तथा यातायातमन्त्री माधव चौलागाईलाई फोन गरेर ६ किलोमिटर सडक बनाइदिन आग्रह गरिन् ।

साथै, सुरक्षा समितिको बैठकमा उनले निर्वाचन सुरक्षाका बिषयमा समेत जानकारी लिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully