मतदान गर्न दिनभर हिँड्छन् छेप्काबासी

बस्तीबाट मतदान केन्द्र टाढा पर्ने भएकाले छेप्काबासीलाई मतदान गरेर फर्किन दिनभर लाग्ने गरेको हो।

माघ २४, २०८२

रामचन्द्र न्यौपाने

Residents of Chhepka walk all day to vote

डोल्पा — हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने छेप्काका बासिन्दालाई मतदान गर्न दिनभर लाग्ने गरेको छ ।

बस्तीबाट मतदान केन्द्र टाढा पर्ने भएकाले छेप्काबासीलाई मतदान गरेर फर्किनै दिनभर लाग्ने गरेको हो ।

यहाँका मतदातालाई तापरिजा माध्यामिक विद्यालय साइजलमा रहेको केन्द्र तोकिएको छ । विगतदेखि नै आफ्नो मताधिकार प्रयोग गर्न दिनभर पैदल हिँडेर मतदान केन्द्रमा पुग्नुपर्ने बाध्यता रहेकाे छेप्काका स्थानीय मतदाता नोर्वु लामाले बताए।

यो गाउँमा ३० जना हाराहारीमा मतदाता छन् । 'हरेक निर्वाचनमा मतदान गर्न बिहानै हिँडेपछि रातिमात्र घर पुग्न सकिन्छ। बृदबृद्धाले त या अघिल्लो दिनै गएर उतै बस्नु पर्छ नभए मतदान सकेर घर पुग्न सकिँदैन,' लामाले भने । केही बृद्धबृद्धा दिनभर हिँड्न नसक्ने भएकाले मतदान गर्न नजाने गरेको उनले बताए ।

छेप्का रेँचीलगायतका गाउँका मतदातालाई समेटेर नजिकमा अर्काे केन्द्र कायम गरिए आफहरुलाई सहज हुने उनको भनाइ छ । यो वडाको अर्को मतदान केन्द्र रिग्मो गाउँमा तोकिएको छ । दुई वटै मतदान केन्द्र गरेर कुल मतदाता २ सय ५२ जना मतदाता रहेका छन् ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully