संवेदनशील मतदानस्थल अनुगमनमा सुरक्षा निकाय

कालीकोटका कूल १ सय ४ मतदानस्थल मध्ये सुरक्षाका दृष्टिले ७४ अति संवेदनशील, २८ संवेदनशील र २ सामान्यमा वर्गीकरण गरिएको छ ।

माघ २३, २०८२

तुलाराम पाण्डे

Security agencies monitor sensitive polling stations

What you should know

कालीकोट — जिल्लाका विकट क्षेत्रमा पर्ने ‘अति संवेदनशील’ मतदानस्थतको स्थलगत अनुगमन गरिएको छ ।

पलाता, पचालझरना, सान्नीत्रिवेणी, शुभकालिका, महाबै, नरहरिनाथ गाउँपालिका र रास्कोट, खाडाचक्र र तिलागुफा नगरपालिकाका गरी २२ वटा मतदानस्थलको प्रत्यक्ष अनुगमन गरिएको छ । अन्य ७३ मतदानस्थलको अप्रत्यक्ष भूगोल र अवस्थाबारे बुझ्ने काम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाभित्रका सबै अति संवेदनशील मतदानस्थल र अन्य केही गरी ९५ वटामा जिल्लाको टोली पुगेको प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयलले बताए । ‘अधिकांशमा स्थलगत नै पुगेका छौं । अन्य संवेदनशील मतदान केन्द्रको पनि नजिकबाट बस्तुस्थिति बुझ्ने काम भएको छ,’ उनले भने । उनले मतदान केन्द्र पुग्ने सडक, पैदल बाटो, खानेपानी, विद्युतको उपलब्धताबारे अवलोकन गरिएको र सुरक्षा चुनौतीबारे पनि जानकारी लिएको बताए ।

कालीकोटका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायमधीश कुलप्रसाद दाहालको नेतृत्वमा प्रजिअ सुयल, जिल्ला निर्वाचन अधिकारी विश्वमंगल शर्मा, देवीबक्स गुल्मका गुल्मपति सन्तोष दाहाल, जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्री, सशस्त्र प्रहरी प्रमुख दिपक चन्द, जिल्ला निर्वाचन अनुगमन अधिकृत टंकबहादुर थापालगायतको टोलीले अति संवेदनशील र संवेदनशील मतदान केन्द्र्रको अनुगमन गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनवहादुर मल्लले बताए । 

कालीकोटका ७ वटा स्थानीय तहका केन्द्रसम्म यातायातको सुविधा छ भने महाबै र पलातामा सिधा गाडीको पहुँच छैन । पलाताको लागि बाजुरा हुँदै धौलागोहको राडुनेटामा गाडी लिएर थिर्पूसम्म मतपेटिका ल्याउने र थिर्पूको पुलबाट बोकाएर घाटपारी चौरबाट गाडीमा मान्म ल्याउने योजना बनाइएको छ ।

त्यस्तै, गाडी नपुगको अर्को स्थानीय तह महाबैका ओदानकु र गेलाका सबै मतदान केन्द्रबाट कर्णाली राजमार्गमा मतपेटिका झारेर सदरमुकाम ल्याउने योजना रहेको सहायक प्रजिअ जनक शर्माले बताए । उनकाअनुसार यस पटक हिमपात भएको अवस्थामा मात्र हेलिकोप्टर आउन सक्ने भएकाले अन्य अवस्थामा स्थलमार्गबाटै मतपेटिका सदरमुकाम ल्याइने छ । 

कालीकोटका कूल १ सय ४ मतदानस्थल मध्ये सुरक्षाका दृष्टिले ७४ अति संवेदनशील, २८ संवेदनशील र २ सामान्यमा वर्गीकरण गरिएको छ । हिमपातको दृष्टिले १४ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ ।

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully