कर्णालीमा २१ हजार बालिकालाई एचपिभी खोप दिइने

माघ २५ गतेदेखि कर्णालीका १० वटै जिल्लाका १४ वर्षमूनिका २१ हजारभन्दा बढी बालिकालाई एचपिभी खोप दिन लागिएको हो ।

माघ २३, २०८२

ज्योति कटुवाल

HPV vaccination to be given to 21,000 girls in Karnali

What you should know

सुर्खेत — कर्णाली प्रदेशमा २१ हजार बालिकालाई पाठेघरको मुखको क्यान्सर रोगबाट बचाउन एचपिभी खोप दिन लागेको हो ।

माघ २५ गतेदेखि कर्णालीका १० वटै जिल्लाका १४ वर्षमूनिका २१ हजारभन्दा बढी बालिकालाई उक्त खोप दिन लागिएको हो ।

कर्णालीका विद्यालय जाने २० हजार ४ सय ८४ बालिका र विद्यालय नजाने ९ सय १६ जनालाई खोप दिइने छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार माघ २५ गतेदेखि सुरु गरि वैशाखसम्म दिइने छ ।

सुरुमा दैलेख र जाजरकोटबाट सुरु गरिने अभियान सल्यान र रुकुममा २७ गते संचालन हुने छ।

सुर्खेतमा फागुन १ गते, कालीकोट र मुगुमा ४ बाट सुरु हुने छ । यस्तै जुम्ला र हुम्लामा फागुन अन्तिममा हुने छ भने डोल्पाले वैशाख पहिलो सातादेखि सुरु गर्ने निर्देशक डा. रबिन खड्काले बताए ।

खोप लागउने बालिकाहरु सुर्खेतमा ५३ सय ४८, दैलेखमा ३४ सय ३२ कालीकोटमा १८सय १३, सल्यानमा २३ सय २१, जाजरकोटमा २६ सय ११ जना रहेका छन् । यस्तै रुकुम पश्चिममा १८ सय ५०, जुम्लामा १३ सय ४१, हुम्लामा १४ सय १५, मुगुमा ७१५, डोल्पामा ५०२ जनालाई एचपिभी खोप दिइने भएको छ ।

स्वास्थ्य निर्देशक खड्काले अघिल्लो वर्षको खोपको कभरेज ९० प्रतिशत भएको बताए । सन् २०३० भित्र पाठेघरको मुखको क्यान्सर निवारणको लक्ष्य राखिएको छ । ‘यो खोप निकै प्रभावकारी देखिएको छ,’ उनले भने, ‘करिब पाँच प्रतिशतले खोप लगाउन छुटेको थियो यो वर्ष तोकिएको सबै बालबालिकोले लागाउन पाउने छन् ।’

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully