जुम्ला एमालेको वाचापत्रमा स्याटेलाइट अस्पतालदेखि २० मेगावाट बिजुलीसम्म

जुम्लाको पानी, राज्यको लगानी भन्ने नाराका साथ तातोपानी–४ स्थित गिडिदह क्षेत्रबाट बग्ने पानीले २० मेगावाट बिजुली उत्पादन गर्न समेत अग्रसर हुने समेत जनाइएको छ।

माघ २२, २०८२

डीबी बुढा

Jumla UML's pledge includes everything from satellite hospital to 20 megawatts of electricity

What you should know

जुम्ला — एमाले जुम्लाले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको बाचापत्रमा सडक, कृषि, पर्यटन, अस्पताल निर्माणदेखि २० मेगावाट बिजुली उत्पादन गर्नेसम्मका प्रतिबद्धता समेटेको छ।

एमाले जुम्लाले बिहीबार मतदाताको घरदैलोमा लैजाने वाचापत्र सार्वजनिक गरेको हो ।

मुख्य राजमार्गसँग जोडिएका आठ वटै स्थानीय तहका ग्रामीण सडक कालोपत्र गर्ने, कर्णाली राजमार्ग दुई लेन बनाउने, जुम्लाको पातारासी, डोल्पो, नाक्चेलाग्ना सडक निर्माण गर्ने, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ जोड्ने सडक निर्माण सक्नेसम्मका विषय समेटेको छ ।

‘कृषि उत्पादन बजारीकरण, एक पालिका एक संकलन केन्द्रलगायतका विषय उच्च प्राथमिकतामा राखेका छौं,’ एमाले उम्मेदवार शान्तिलाल महतले भने, ‘सिंजामा स्याटेलाइट अस्पताल बनाउने बाचासहित चुनावमा होमिएका छौं ।’

उनले जुम्लाको पानी, राज्यको लगानी भन्ने नाराका साथ तातोपानी–४ स्थित गिडिदह क्षेत्रबाट बग्ने पानीले २० मेगावाट बिजुली उत्पादन गर्न समेत अग्रसर हुने प्रतिबद्धता जनाए । ‘म धेरै ठूला र महत्त्वाकांक्षी योजना लिएर मतदाताको घरदैलोमा जाने छैन । स्थानीय स्रोतसाधनले धान्ने मात्रै योजना प्राथमिकतामा राखेको छु,’ महतले भने, ‘जुम्लाको विकास, समृद्धि र स्वास्थ्य शिक्षामा सुधार र रोजगारका क्षेत्रमा राम्रै कामको थालनी गर्ने वाचा गरेको छु ।’

महतले बढ्दो भ्रष्टचार, कुशासनविरुद्ध जुम्ली जनताको प्रतिनिधिको रुपमा उभिनका लागि उम्मेदवार बनेको बताए । डिजिटल हेल्थ मोबाइल एपको विकास गर्ने, टेलिमेडिसिन सेवा विस्तार गर्ने, स्थानीय जुडीबुटी अनुसन्धान, उत्पादन तथा प्रवर्द्धनसहित आयुर्वेद, ग्रामीण मेडिसिन र योग शिक्षा केन्द्र स्थापना गर्ने पनि वाचापत्रमा छ । 

कर्णाली प्राविधिक शिक्षालयलाई कृषि तथा प्रर्वतीय विश्वविद्यालय निर्माण गर्ने, सिंजामा विशेष औद्योगिक आर्थिक क्षेत्र बनाउने, स्थानीय उत्पादनको प्रशोधन, ब्राण्डिङ, बजारीकरण र मूल्य श्रृंखलामा सुधार ल्याउने, वन कृषि र जडीबुटी अनुसन्धान प्रशोधन तथा प्रवर्द्धन केन्द्र स्थापना गर्ने, एक पालिका एक चिस्यान केन्द्र बनाउने एमालेको वाचापत्रमा समेटिएको छ । 

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully