उपल्लो डोल्पामा पर्ने २३ वटा मतदान केन्द्रमा निर्वाचन सामग्री,कर्मचारी तथा सुरक्षाकर्मी लैजाने कार्यकालागि हेलिकप्टर माग गरिएको हो ।
डोल्पा — हिमाली जिल्ला डोल्पाका २३ मतदान केन्द्रमा हेलिकप्टर प्रयोगकालागि माग गरिएको छ ।
उपल्लो डोल्पामा पर्ने २३ वटा मतदान केन्द्रमा निर्वाचन सामग्री,कर्मचारी तथा सुरक्षाकर्मी लैजाने कार्यकालागि हेलिकप्टर माग गरिएको हो ।
फागुन २१ मा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाका २३ मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी तथा सुरक्षाकर्मी ल्याउन लैजानकालागि हेलिकप्टर माग गरेको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए ।
उपल्लो डोल्पामा पर्ने मतदान केन्द्रहरु भाैगोलिक रुपमा विकट भएकाले निर्वाचन सम्पन्न गर्न हेलिकप्टर प्रयोगको विकल्प नभएको उनको भनाई । उनका अनुसार एउटा मतदान केन्द्रमा नेपाली सेना सशस्त्र प्रहरीबाहेक १९ जना कर्मचारी जिल्लाबाट खटिन्छन् । त्यसमा पालिकाबाट थप तीन जना खटाइन्छ ।
१९ जनाका दरले जिल्लाबाटमात्रै ४ सय ३७ कर्मचारी हेलिकप्टरमा लैजानुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यसपटक उपल्लो डोल्पा क्षेत्रमा भारी हिमपात भएकाले मतदान केेन्द्रमा खटिने नेपाली सेना र सशस्त्र प्रहरीलाई समेत हेलिकप्टरबाट लैजान माग गरिएको छ । जिल्लामा कुुल ६८ वटा मतदान केन्द्र रहेका छन् भने कुल मतदाता २४ हजार १ सय २५ मतदाता रहेका छन् ।
