डोल्पाका तीन उम्मेदवारको एउटै आश्वासन, भेरी करिडोरको पूर्णता

उपल्लो डोल्पामा पर्ने मोरिम्ला नाकादेखि चीन-नेपाल र भारत जोड्ने उक्त करिडोर नेपाली कम्युनिष्ट पार्टी, एमाले र कांग्रेसका उम्मेदवारहरुले मुख्य चुनावी एजेण्डा बनाएका हुन् ।

माघ २०, २०८२

रामचन्द्र न्यौपाने

Three Dolpa candidates have one assurance: completion of the Bheri Corridor

What you should know

डोल्पा — हिमाली जिल्ला डाेल्पालाई राष्ट्रिय सडक सञ्जालमामात्र जोड्ने नभई उत्तर–दक्षिणलाई जोड्ने लोकमार्गको रुपमा परिचित भेरी करिडोर डोल्पाली उम्मेदवारको साझा चुनावी एजेण्डा बनेको छ ।

उपल्लो डोल्पामा पर्ने मोरिम्ला नाकादेखि चीन नेपाल र भारत जोड्न उक्त करिडोर नेपाली कम्युनिष्ट पार्टी, एमाले र कांग्रेसका उम्मेदवारहरुले मुख्य चुनावी एजेण्डा बनाएका हुन् ।

२०७५ मंसिरमा नेपाली सेनाले जाजरकोटको पासागार्डदेखि दुनैसम्म ट्रयाक खोलेर सडक विभागलाई हस्तान्तर गरेकाे भेरी करिडोरको पूर्णता यस पटक डोल्पाली उम्मेदवारको मुख्य चुनावी बाचा बनेको हो ।

नेकपा उम्मेदवार धनबहादुर बुढाले आफू निर्वाचित भएपछि डोल्पाली जनताको लाइफलाईनको रुपमा रहेको भेरी करिडोर निर्माणलाई पूर्णता दिन लागि पर्ने बताए । ‘यसअघि पनि मैले बारम्बार संसदमा आवाज उठाएर भेरी करिडोर अन्तर्गत पर्ने तल्नुबगरदेखि दुनैसम्मको खण्ड स्तरोन्नतिकालागि ४ अर्ब २० करोड बजेट सुनिश्चित गराएर निर्माण कार्य पनि सुरु भइसकेकाे छ । अब दुनैदेखि सिसौलसम्म सडकको ट्रयाक खुलाउने काम बाँकी रहेकाले यसकार्यमा अहोरात्र लाग्ने छु,' उनलेे भने । 

यससँगै भर्खरै सर्वेक्षण सम्पन्न भएको मेघा प्रोजेक्ट ३ सय २८ मेघावाटको भारबुङ तातुखोला जलविद्युत आयोजना निर्माणकालागि पनि पहल गर्ने उनकाे भनाइ छ । उम्मेदवार बुढा लगातार तीन पटक डोल्पाबाट सांसद बनिसकेका हुन् भने अहिले चौथो पटकका लागि चुनावी मैदानमा छन् ।

एमाले उम्मेदवार लंकबहादुर रोकायले पनि भेरी करिडोरलाई पूर्णता दिने विषयमा लागि पर्ने बताए । 'म निवार्चित भए लगत्तै पहिलो भेरी करिडोर निर्माणको आवाज संसदमा बुलन्द पार्नेछु । जनताको शासक होइन सेवक भएर काम गर्नेछु । तीन भेगमा बाँडिएको डोल्पामा सबै जनताले अनुभुती गर्न पाउने गरि विकासकाे काम गर्छु,’ उनले भने । युवा लक्षित कार्यक्रमहरु र उपल्लो डोल्पास्थित नेपाल चीनबीचको सीमा सुरक्षामालाई मजबुत बनाउन पनि पहल गर्ने उनको भनाइ छ ।

कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले पनि विकासकाे मुख्य पूर्वाधारको रुपमा रहको सडक निर्माणलाई प्राथामिकता दिएर काम गर्ने बताए । ‘म निर्वाचित भएपछि काइकेे गाउँपालिका हुँदै अगाडि बढ्ने भेरी करिडोरलाई निर्माण सम्पन्न गर्नतिर लाग्छु । अहिले दुनैदेखि काइकेसम्म पनि सडक छैन । दुनै ल्यासीक्याप हुँदै सिसौलसम्म सडक खुलाउने र स्तरोन्नति गराउने काममा म र मेरो पार्टी लाग्छ,’ उनले भने । जिल्लाले असल नेतृत्व नपाउँदा विगतदेखि नै डोल्पाले विकासमा फड्को मार्न नसकेकाले अब डोल्पामा विकास, सुशासन र समृद्धिको पक्षमा आफू र आफ्नो पार्टी खटिने उनको भनाइ छ ।

२०६४ सालमा संविधानसभा सदस्य निर्वाचनमा पराजय भाेगेका कांग्रेस उम्मेदवार बुढा पार्टीका केन्द्रीय सहमहामन्त्री समेत हुन् ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully