सल्यान अस्पतालमा ‘कार्डियोटोकोग्राफी’ सेवा संचालन

कार्डियोटोकोग्राफी सेवा सुरु गरेपछि जिल्लाका गर्भवतीलाई जाँच गर्न सहज भएको छ ।

माघ २०, २०८२

विप्लव महर्जन

'Cardiotocography' service launched at Salyan Hospital

सल्यान — जिल्ला अस्पताल सल्यानमा कार्डियोटोकोग्राफी सेवा सुरु गरिएको छ । गर्भमा रहेको शिशुको मुटुको धड्कन जाँच गर्न जिल्ला अस्पतालमा कार्डियोटोकोग्राफी सेवा सुरु गरिएको हो ।

कार्डियोटोकोग्राफी सेवा सुरु गरेपछि जिल्लाका गर्भवतीलाई जाँच गर्न सहज भएको छ । गर्भमा भएको बच्चाको मुटुको धड्कनको अवस्था जाँच गर्न दाङ, नेपालगन्ज तथा सुर्खेत जान बाध्य हुँदै आएका गर्भवतीले जिल्ला बाहिर जान नपर्ने जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले बताए ।

उक्त सेवा संचालनका लागि एक मेसिन विभागले उपलब्ध गराएको र अर्को जिल्लाबाटै खरिद गरिएको उनले जानकारी दिए । २०४४ सालमा स्थापना भएको १५ शय्याको जिल्ला अस्पतालमा एक दशकदेखि जटिल समस्या भएकालाई शल्यक्रिया गरेर सुत्केरी गराइदै आएको छ। ‘यसबाट मातृ मृत्यु त रोकियो तर गर्भ मृत्यु कम भएन । गर्भ मृत्यु रोक्नकै लागि कार्डियोटोकोग्राफी सेवा सुरु गर्नु परेको हो,’ उनले भने ।

कार्डियोटोकोग्राफी सेवा सुरु भएदेखि एक साताको अबधिमा २५ जनाको गर्भमा रहेको शिशुको मुटुको धड्कन जाँच गरिएको प्रमुख डा. बुढा मगरले जानकारी दिए। १५ शय्याको जिल्ला अस्पतालमा अहिले विभिन्न निकायको सहयोग र आफ्नै स्रोतबाट ३८ बेड राखेर सेवा संचालनमा रहेको उनले बताए । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully